२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

चुनौती बन्दै बेवारिसे शिशु, समस्या हटाउनमा छैन कसैको चासो

यही कात्तिक १ गते सुनसरीको कोसी गाउँपालिकामा प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा एक नवजात शिशु फेला प¥यो। सोही दिन झापाको बुद्ध शान्ति गाउँपालिका–७ सुनमाईमा ४–५ दिनको नवजात शिशु घरको बरन्डामा राखेको अवस्थामा फेला परेको थियो। 

त्यसको केही दिनअघि असोज २९ गते मात्रै महोत्तरीको नगरपालिका–४ को एक खेतमा १५ दिन जतिको शिशु फेला परेको थियो। त्यसको अघिल्लो दिन असोज २८ गते मोरङको धनपालथान गाउँपालिकाको एक उखुबारीमा ७ महिनाकी नबालिका बेवारिसे अवस्थामा फेला परेकी थिइन्। 

यी केही प्रतिनिधि घटना मात्रै हुन्। नेपालमा पछिल्लो समय यसै गरी बेवारिसे अवस्थामा शिशुहरू भेटिने समस्या गम्भीर सामाजिक चुनौती बन्दै गएको छ। देशका विभिन्न ठाउँमा यसै गरी नवजात शिशु र केही महिनाभित्रका बालबालिका बेवारिसे अवस्थामा भेटिने क्रम बढ्दै गएको देखिएको छ। जसले बाल अधिकार र महिला प्रजनन स्वास्थ्यमा समेत गम्भीर चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ। 

यसै गरी धमाधम बेवारिसे शिशु भेटिने गरेका त छन् नै त्यसले बेवारिसे छाड्ने व्यक्ति र आमाबाबुको पहिचान नहुँदा त्यसरी अलपत्र छाड्ने विरुद्ध मुद्दा चलाउन पनि सकिएको छैन। 

यो समस्या दिनानुदिन गम्भीर बन्दै जाँदा पनि सरोकारवाला कसैको पनि ध्यान जान नसकेको अर्को विडम्बनापूर्ण स्थिति छ। कतिसम्म भने यस्ता बेवारिसे शिशु कहाँ कति र कसरी भेटिए? त्यसको व्यवस्थापन कसरी भयो? भन्ने विषयको आँकडा कसैसँग पनि छैन। नागरिकन्युजले नेपाल प्रहरी प्रधान कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसम्म बुझ्दा पनि यसको तथ्याङ्क भेटिएन। 

प्रहरीले भने बेवारिसे भेटिएका अधिकांश शिशुको ज्यान गइसकेको हुने बताउँछ। तर, जीवित भेटिएकाहरूलाई तत्कालै उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइन्छ। त्यसपछि के हुन्छ? प्रहरीले यकिन विवरण राखेको छैन।

बेवारिसे शिशु भेटिने समस्या निकै पुरानो रहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) विनोद घिमिरे बताउँछन्। ‘यस्ता घटना विगत देखी भेटिँदै आएका छन्। तर खासै कुनै पनि व्यक्तिले जाहेरी नदिने गरेकाले पक्राउ पनि कोही नपर्ने भइरहेको छ,’ उनले भने, ‘शिशुहरूको पूर्ण विवरण पनि प्रहरीले राख्ने गरेको छैन।’ शिशुलाई मारेर फालेको अवस्थामा भने कर्तव्य ज्यान मुद्दामा अनुसन्धान चलाइने र प्रमाणसहित दोषी फेला परे कानुनी कारबाही अगाडि बढाइने उनले बताए। ‘बेवारिसे मात्र बनाएको अवस्थामा भने सामान्य कानुनी कारबाही हुने प्रावधान छ,’ डिआइजी घिमिरेले भने। 

प्रहरीले यस्ता घटना प्रेम सम्बन्ध तथा अवैध गर्भधारणबाट हुने समस्या बढी देखेको छ। ‘प्रेम सम्बन्धबाट अवैध गर्भधारण हुने र त्यसलाई समाज तथा परिवारले अस्वीकार गर्ने स्थितिमा यस्ता घटना हुन्छन्,’ डिआइजी घिमिरेले भने। यसबाहेक आर्थिक, सामाजिक र धार्मिक कारण पनि रहेको उनले बताए।

सामाजिक र मनोवैज्ञानिक कारण 

समाज शास्त्री तथा मनोविद्हरू यस्ता घटनामा सामाजिक र मनोवैज्ञानिक जटिलता नै प्रमुख रहेको बताउँछन्।  समाज शास्त्री उद्धव प्याकुरेलको बुझाइमा नेपाली समाजमा ‘एकल आमा’लाई वैधानिकता नदिँदा पनि यस्ता समस्या बढी देखिने गरेका छन्। 

‘विकसित देशमा एकल आमाले पनि वैधानिकता पाउन सक्छिन्। अनि बालबालिकाको आवश्यकता पूर्तिमा राज्यले नै दायित्व लिन्छ,’ उनी भन्छन्, ‘त्यसो भए जस्तोसुकै अवस्थामा गर्भधारण भएको भए पनि आमाले बच्चालाई हुर्काउने जमर्को गर्ने हुन्छ।’ तर नेपालमा कानुन र समाजले एकल आमालाई मान्यता नदिँदा अवैध गर्भधारण गर्ने आमाले लुकेर सन्तान जन्माएर बेवारिसे फालेर हिँड्ने गरेको उनी बताउँछन्।

वरिष्ठ मनोविद् डा. सुदर्शन नरसिंह प्रधान यसरी बेवारिसे सन्तान छाडेर हिँड्नुमा आमामा गर्भावस्थासँगै सुरु हुने शारीरिक र मानसिक अवस्था पनि कारण ठान्छन्। ‘गर्भावस्थाको समयमा शरीरमा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा अत्यधिक हुन्छ तर बच्चा जन्माएपछि उक्त हर्मोनको कमी आउने हुँदा मानसिक आघात हुन्छ,’ उनले भने, ‘बच्चा जन्माएपछि प्रायलाई पोस्टमार्टम साइकोसिस हुन्छ र ठिक बेठिक पहिचान गर्न नसक्दा यस्ता घटना हुन्छन् तर आमाको उपचार नगरी बेवास्ता गर्दा आमा र बच्चा दुबैलाई असर हुन्छ।’  उनी यस्ता घटनामा सामाजिक र आर्थिक पाटो पनि जोडिने भए पनि मानसिक स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताउँछन्। 

आमाको स्वास्थ्यमा गम्भीर असर 

स्वास्थ्यको गम्भीर्यतालाई हेरेर प्रसूति हुँदा र शिशु जन्मिएपछि २४ घण्टा प्रत्यक्ष रूपमा आमा र शिशु चिकित्सकको प्रत्यक्ष निगरानीमा बस्नुपर्छ।

तर यस्ता घटनामा ती आमाले अक्सर प्रसूति केन्द्रबाट प्रसूति सेवा लिँदैनन्। यस्तै बच्चा जन्माउँदा पनि सकभर एक्लै हुने अवस्था हुन्छ। त्यसले प्रसूतिका बेला ती आमाको ज्यानै जोखिममा पर्छ। 

यस्तै शिशु जन्माएपछि बेवारिसे छाडेर जाँदा पनि ती आमा शारीरिक र मानसिक स्वास्थ्यमा झनै समस्या हुने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन्। ‘आमाले बेवारिसे शिशु छोडेर हिँड्नु दीर्घकालीन समाधान हुँदैन। त्यसले झन् आमाको शारीरिक र मानसिक स्वास्थ्य अवस्था थप जटिल बनाउँछ,’ उनी भन्छन्। 

आमाले शिशुको जन्म दिइसकेपछि केही समय स्तनपान अनिवार्य हुने र स्तनपान  नगराउँदा आमाको शरीर ‘प्रि प्रेगेनेन्सी’ अवस्थामा फर्कन झन् कठिनाइ हुने उनले बताए। ‘त्यसले झन् सङ्क्रमणको जोखिम बढाउँछ। मानसिक समस्या बढ्दै जाँदा आमा आत्महत्याको बिन्दुसम्म पुग्न सक्छिन्,’ डा. सुवेदी भन्छन्। 

महिला आयोग के भन्छ ? 

बेवारिसे शिशु भेटिनुको प्रमुख कारण माया प्रेमले स्वस्थ निकास नपाउनु रहेको राष्ट्रिय महिला आयोगकी उपसचिव रोशनीदेवी कार्की बताउँछिन्। उनी भन्छिन्, ‘समाजले अनावश्यक गर्भधारणको नाम दिएको छ, कसैलाई प्रेम गर्नु अनावश्यक थिएन होला। प्रेमको नतिजा बच्चा भयो भने अस्वीकार गर्ने व्यक्ति अपराधको भागीदार हो।’ 

समाजमा यो घटनाको व्यवस्थापन गर्न कसैसँग पनि सामाजिक तथा नैतिक सामर्थ्य नरहेको उनी बताउँछिन्। ‘तर हुर्किरहेका छोराछोरी परिवारको निकटतामा रहने र अभिभावकसँग समस्या राख्न सके यस्ता विकृति कम हुन सक्छन्,’ उनले भनिन्। 

कानुनी प्रावधान र चुनौती   

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ र मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार गर्भपतनका लागि विभिन्न अवस्थाका १२ हप्तादेखि २८ हप्तासम्मको समय सीमा तोकिएको छ।  तर समाजको रूढिवादी दायरालाई भत्काउन नसक्दा र कानुनी प्रक्रियाको कार्यान्वयन नहुँदा अवैध गर्भधारण हुँदा पनि गर्भपतनको सुविधा लिनबाट महिलाहरू वञ्चित भइरहेका छन्। जसको परिणाम बेवारिसे शिशु भेटिने गरेका छन्। 

बाल अधिकारको हनन 

नेपालले सन् १९९० मा संयुक्त राष्ट्र सङ्घको बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको छ। सोहीअनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ पनि लागू गरेको छ। यस महासन्धिले बालबालिकाको सर्वोत्तम हित, भेदभाव रहित व्यवहार, दीर्घ जीवन र विकासलाई सुनिश्चित गर्नुपर्ने सिद्धान्तमा जोड दिन्छ।

तर बेवारिसे अवस्थामा भेटिएका सालनालसहितका नवजात शिशु र महिनौँ भइसकेका बालबालिकाहरूले नेपालमा बाल अधिकार र उनीहरूको जीवनप्रति अभिभावक र राज्य नै गम्भीर नभएको अवस्थालाई छर्लङ्ग पारेको छ। 

प्रकाशित: १५ कार्तिक २०८२ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App