ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका दोखुका एक व्यक्ति बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बेपत्ता हुनेमा फुङलिङ नगरपालिका वडा नं ७ दोखुका ३० वर्षीय राजन काम्वाङ रहेका छन्।
प्रहरीका अनुसार काम्वाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ नगरपालिका वडा नं ८ स्थितमा रहेको खड्कुडे भन्ने स्थानमा तमोर नदीमा पौडी खेल्न गएका थिए। स्थानीय डिल्ली गुरुङले पौडी खेल्ने क्रममा काम्वाङ बेपत्ता भएको भनि प्रहरीलाई जानकारी गराएपछि उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक निमा शेर्पाको कमाण्डमा प्रहरी टोली परिचालित भएको र खोजी कार्य जारी रहेको समेत प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
प्रकाशित: ८ कार्तिक २०८२ ०९:५७ शनिबार





