१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भाेटेकाेशी बाढी: घरभित्रै बिलाए भान्सामा व्यस्त महिलाहरू

गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई।

“भान्सामा खाना पकाउनै व्यस्त थिए उनीहरू। भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन्। अन्ततः उनीहरू घरभित्रैबाट बिलाए।”

भोटेकोशी बाढीपीडित अवलोकनमा पुगेका महिला पुनर्स्थापना केन्द्र (ओरेक) का कार्यक्रम संयोजक सुलोचना खनालले बताइन्। उनले भनिन्, “कतिले त फोन उठाउन नै पनि पाएनछन्।”

बाढीपीडित क्षेत्रमा पुगेका महिलावादी संस्थाले नुवकोट, त्रिशूली, बेत्रावती लगायतका स्थानमा पुगी होल्डिङ सेन्टरका महिला र किशोरकिशोरीलाई आन्तरिक पहिरनका सामग्री उपलब्ध गराएका छन्।

यतिखेर महिला पुनर्स्थापना केन्द्र (ओरेक) मात्र होइन, तरङ्गिनी फाउन्डेसन, लुम नेपाल लगायतका संस्था पनि त्यहाँ पुगेका छन्।

ओरेकका कार्यक्रम संयोजक सुलोचना खनालले बाढी पीडितका क्षेत्रमा महिला, बालबालिका र सुत्केरीको स्थिति जटिल रहेको बताइन्।

संयुक्त राष्ट्र महिला (युएन युमेन) ले सार्वजनिक गरेको विज्ञप्ति अनुसार लगभग एक लाख ६० हजार महिला र बालबालिकालाई  भोटेकोशी बाढीले प्रभावित गरेको उल्लेख छ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, नुवाकोटबाट प्राप्त विवरणअनुसार आश्रममा रहेका ३४ ज्येष्ठ नागरिकमध्ये २४ जनाको उद्धार गरिएको छ।

हालसम्म पाँच जना बेपत्ता रहेको, एकजनाको मृत्यु भएको र घाइते स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिकको विभिन्न अस्पतालमा उपचार हुँदै छ।

त्यस्तै सात जनालाई आफन्तको जिम्मामा पठाइएको छ। १४ जना उद्धार गरिएका ज्येष्ठ नागरिकलाई नुवाकोटको आयुर्वेद भवनमा राखिएको छ। नुवाकोटमा अलपत्र परेका करिब ४० विद्यार्थीको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ।

अभिभावकबाट अलग भएका केटाकेटीको सुरक्षित संरक्षण, हेरचाह तथा उचित व्यवस्थापन गरिँदै आएको महिलामन्त्री सिता बादीले बताइन्। 

प्रकाशित: १७ भाद्र २०८३ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App