६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बारम्बार किन फैलिन्छ किम जोङ उनको मृत्युको अफवाह ?

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा किम जोङ उनका नयाँ तस्बिर सार्वजनिक भएका छन्। ती तस्बिरमा उनी केही घण्टाअघि मात्रै मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको अफवाह फैलिएको व्यक्तिका तुलनामा निकै स्वस्थ देखिन्छन्।

उत्तर कोरियाको सरकारी अखबार ‘रोडोङ सिनमुन’ले ती तस्बिर प्रकाशित गरेको हो। तस्बिरमा ४२ वर्षीय शासक किम जोङ उन आफ्नी छोरीसँगै कपडा तथा जुत्ताको प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छन्।

अमेरिकामा बसोबास गर्ने चीनका एक असन्तुष्ट कार्यकर्ताले कुनै प्रमाणबिना किमको मृत्यु भएको दाबी गरेको केही घण्टापछि यी तस्बिर सार्वजनिक भएका हुन्।

उनले किम कोमामा पुगेको, उपचारका लागि बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको र त्यसपछि उनको मृत्यु भएको दाबी गरेका थिए। तर, उत्तर कोरियालाई नजिकबाट नियालिरहेका व्यक्तिहरूका लागि यस्ता अफवाह अब लगभग सामान्यजस्तै भइसकेका छन्।

उत्तर कोरिया विश्वकै सबैभन्दा गोप्य देशमध्ये एक हो। त्यहाँबाट बाहिर आउने सूचनाको पुष्टि गर्न प्रायः कठिन हुन्छ। यही कारण अड्कलबाजी र अफवाहले सजिलै ठाउँ पाउने गरेका छन्।

किमको मृत्यु भएको दाबी कहाँबाट आयो?

यसपटक यस्तो दाबी वानजुन सी नामका व्यक्तिले गरेका हुन्। उनी आफूलाई ‘चाइनिज डेमोक्रेटिक पार्टी’का अध्यक्ष बताउँछन्। उक्त संगठनलाई चीनका अधिकारीहरूले प्रतिबन्ध लगाएका छन्।

सीले यसअघि पनि पुष्टि नभएका यस्ता दाबी गरिसकेका छन्। यसमा चीनका नेता सी जिनपिङको मृत्यु भएको हुन सक्ने भन्दै गरिएको अड्कलबाजी पनि समावेश छ।

वानजुन सीले किम जोङ उनलाई गम्भीर रूपमा मस्तिष्कमा रक्तस्राव भएको दाबी गरेका थिए। उनका अनुसार उत्तर कोरियामा आवश्यक उपचार सुविधा नभएकाले किमलाई बेइजिङ लगिएको थियो।

त्यसपछि किमको मृत्यु भएको र उनको शव गोप्य रूपमा उत्तर कोरिया फर्काइएको उनले दाबी गरेका थिए। उत्तर कोरियाली शासनले उनको मृत्युको खबर लुकाइरहेको पनि उनको भनाइ थियो। तर, सार्वजनिक भएका नयाँ तस्बिरले फरक दृश्य देखाएका छन्।

सन् २०२० मा पनि फैलिएको थियो मृत्युको दाबी

तस्बिरमा किम आफ्नी छोरी किम जु ए र सधैँ उनीसँग देखिने अधिकारीहरूका बीच प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छन्.

यद्यपि, ती तस्बिर ठ्याक्कै कहिले खिचिएका हुन् भन्ने यकिन गर्ने कुनै उपाय छैन। तर, उक्त दाबीमाथि शंका गर्ने अन्य कारण पनि छन्। उत्तर कोरियाको सीमामा कुनै असामान्य गतिविधि देखिएको छैन।

यदि किम जोङ उनको स्वास्थ्य अवस्था अचानक यति गम्भीर बनेको भए उत्तर कोरियाबाहिर पनि त्यसका केही संकेत देखिन सक्थे।

सम्भावित अस्थिरता वा शरणार्थीको आगमनलाई ध्यानमा राख्दै चीनले आफ्नो सीमामा सुरक्षा व्यवस्था कडा पार्न सक्थ्यो। उत्तर कोरियाका कूटनीतिक नियोग वरपर पनि गतिविधि बढ्न सक्थ्यो।

दक्षिण कोरियामा बसोबास गर्ने उत्तर कोरियालीहरूले प्रायः चीनको सीमामा रहेका अनौपचारिक सम्पर्कमार्फत सूचना प्राप्त गर्ने गर्छन्। तर, यसपटक त्यस्तो केही भएको छैन।

दक्षिण कोरियाका गुप्तचर अधिकारीहरूले पनि समाचार संस्था योनहापसँग कुरा गर्दै यी खबरको पुष्टि गर्ने कुनै सूचना आफूहरूसँग नरहेको बताएका छन्। किम जोङ उनको मृत्युबारे फैलिएको यो अफवाह यसअघि फैलिएका झुटा खबरजस्तै देखिन्छ।

सन् २०२० मा उत्तर कोरियाबाट भागेर आएका एक चर्चित व्यक्तिले मुटुको शल्यक्रियापछि किमको मृत्यु भएकोमा आफूलाई ‘९९ प्रतिशत विश्वास’ रहेको दाबी गरेका थिए। तर, त्यसको केही समयपछि किम सार्वजनिक रूपमा देखा परे र उक्त दाबी गलत साबित भयो।

बारम्बार किन फैलिन्छन् यस्ता अफवाह?

यसको पहिलो कारण उत्तर कोरियामा सत्ता उत्तराधिकारबारे रहेको अनिश्चितता हो। उत्तर कोरियामा किम परिवारका तीन पुस्ताले शासन गरिसकेका छन्। तर, किम जोङ उनपछि सत्ता कसले सम्हाल्ने भन्ने विषय उनका पूर्ववर्तीहरूको समयको तुलनामा कम स्पष्ट छ।

किम इल सुङले आफ्ना छोरा किम जोङ इललाई सत्ता हस्तान्तरण गर्न दशकौँसम्म तयार पारेका थिए।

सन् १९९४ मा किम इल सुङको मृत्यु हुँदा उत्तराधिकारको योजना पूर्ण रूपमा तयार भइसकेको थियो। त्यसैले किम जोङ इललाई सत्ता सम्हाल्न तुलनात्मक रूपमा सहज भयो। तर, किम जोङ उनको सत्तारोहण भने निकै तीव्र र अनिश्चित थियो।

सन् २००८ मा किम जोङ इललाई मस्तिष्कघात भएपछि उनका कान्छा छोरालाई तीव्र गतिमा सत्ताका विभिन्न तहमा अगाडि बढाइएको थियो।

सन् २०११ मा उनका पिताको मृत्यु हुँदासम्म किम जोङ उनलाई सार्वजनिक रूपमा भावी नेताका रूपमा प्रस्तुत गरिसकिएको थियो।

त्यसका बाबजुद किम जोङ उनलाई सत्तामा आफ्नो पकड बलियो बनाउन धेरै वर्ष लाग्यो। यस अवधिमा उनले आफ्ना विरोधीहरूलाई हटाए र आफूलाई खतरा ठानेका व्यक्तिहरूलाई समाप्त पारे।

के छोरी किम जु ए उत्तराधिकारी बन्न सक्छिन्?

दक्षिण कोरियाको गुप्तचर निकायको अनुमानअनुसार किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने तयारी गरिरहेका हुन सक्छन्।

किम जु ए पछिल्लो समय ठूला सार्वजनिक कार्यक्रम तथा सैन्य प्रदर्शनमा पहिलेभन्दा बढी देखिन थालेकी छन्। तर, उनको उमेर करिब १३ वर्ष मात्रै रहेको अनुमान छ।

उत्तर कोरियाको नेतृत्व अहिलेसम्म कुनै महिलाले सम्हालेकी छैनन्। किम जु एलाई औपचारिक रूपमा उत्तराधिकारी घोषणा पनि गरिएको छैन। कम उमेरका कारण सत्ताका लागि हुने कुनै पनि संघर्षमा उनको स्थिति कमजोर हुन सक्ने सम्भावना पनि छ।

उत्तराधिकारबारे यही अनिश्चितताले किम जोङ उनको स्वास्थ्यसँग सम्बन्धित अफवाहले किन धेरै ध्यान आकर्षित गर्छन् भन्ने स्पष्ट पार्छ।

मृत्युको अफवाह पूर्णतः असम्भव किन लाग्दैन?

यसको दोस्रो कारण किम जोङ उनको स्वास्थ्यबारे फैलिने खबर पूर्णतः असम्भव लाग्दैनन्। किमको तौल बढी छ र उनी धेरै धूमपान गर्छन्।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)ले उनको जीवनशैलीका कारण मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढी रहेको भन्दै पटकपटक चेतावनी दिँदै आएको छ। किम परिवारमा मुटुसम्बन्धी रोग र मस्तिष्कघातको इतिहास पनि रहेको छ।

यदि किम जोङ उनलाई केही भयो भने त्यसको प्रभाव छिमेकी देशहरू र समग्र अन्तर्राष्ट्रिय समुदायका लागि निकै गम्भीर हुन सक्छ।

नेतृत्वमा अचानक उत्पन्न हुने संकटले उत्तर कोरियाका आणविक हतियारको नियन्त्रण र राजनीतिक अस्थिरताबारे कठिन प्रश्न खडा गर्न सक्छ।

के सत्ता संघर्षले कट्टरपन्थी नेताहरूलाई आक्रामक कदम चाल्न उक्साउन सक्छ? के अस्थिरताका कारण चीनको सीमामा शरणार्थी संकट उत्पन्न हुन सक्छ?

यी प्रश्नले बेइजिङ र सोललाई मात्रै होइन, दक्षिण कोरियामा करिब २८ हजार सैनिक तैनाथ गरेको वासिङ्टनलाई पनि चिन्तित बनाउँछन्। त्यसैले गुप्तचर निकायहरूले किम जोङ उनमाथि निकै नजिकबाट निगरानी राख्ने गरेका छन्, ताकि उनीसँग सम्बन्धित कुनै पनि घटनाका लागि तयार रहन सकियोस्।

सूचनाको मामिलामा ‘ब्ल्याक होल’ जस्तै उत्तर कोरिया

उत्तर कोरिया सूचनाका मामिलामा अझै पनि ‘ब्ल्याक होल’ जस्तै छ। त्यसैले झुटा खबर फैलाउन चाहनेहरूका लागि यो सजिलो निशाना बन्ने गरेको छ। उत्तर कोरियाली नेतासम्म नियमित पहुँच भएका मानिसहरू निकै कम छन्।

गुप्तचर निकायहरूलाई समेत विश्वसनीय सूचना सङ्कलन गर्न कठिन हुन्छ। बाहिर आउने सूचनामा पनि प्रायः सावधानी अपनाइन्छ। तिनलाई निश्चित तथ्यका रूपमा नभई ‘अपुष्ट’ वा ‘सम्भावित’ भन्दै प्रस्तुत गरिन्छ।

उत्तर कोरियाली शासनले जानाजानी अन्योल बढाउने र देशभित्र वास्तवमा के भइरहेको छ भन्ने कुरा लुकाउन गलत सूचनालाई बाहिर फैलिन दिने गरेको आरोपसमेत लाग्ने गरेको छ।

यस्तो अवस्थामा उत्तर कोरियामाथि निगरानी राख्नु नै जसको काम हो, त्यस्ता निकायले थाहा नपाएको महत्त्वपूर्ण सूचना वानजुन सीले प्राप्त गरेका थिए भन्ने विश्वास गर्न कठिन हुन्छ।

सम्भवतः उनी मानिसहरूको ध्यान आकर्षित गर्न चाहन्थे।

उत्तर कोरिया र चीनबीचको सम्बन्धलाई चर्चामा ल्याएर बेइजिङलाई अप्ठ्यारोमा पार्ने उनको उद्देश्य पनि हुन सक्छ। यद्यपि, बेइजिङ र प्योङयाङबीचको सम्बन्धबारे विश्व समुदाय पहिलेदेखि नै जानकार छ।

उनको उद्देश्य जे भए पनि उत्तर कोरियाको नेतृत्वबारे रहेको अनिश्चितताको फाइदा उठाउने वानजुन सी पहिलो व्यक्ति भने होइनन्। बीबीसी

प्रकाशित: ६ कार्तिक २०८३ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App