३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हेटौंडामा सडकको स्ल्याब भासिएर इट्टा बोकेको ट्रक पल्टियो, चालक घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा सडकको स्ल्याब भासिएर इट्टा लोड गरिएको ट्रक दुर्घटनामा परेको छ।

शुक्रबार बिहान करिब ८:५५ बजे पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको १२ चक्के ट्रक दुर्घटनामा परेको हो।

भित्री सडकखण्डमा गुडिरहेको उक्त ट्रक सडकमा हालिएको स्ल्याब कमजोर भएका कारण टुट्न गई अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ट्रक चालक बाराको सिम्रौनगढ नगरपालिका–८ बस्ने अन्दाजी २४/२५ वर्षीय अकलेश कुमार साह घाइते भएका छन्। उनको दाहिने हात र पिठ्युँमा सामान्य चोट लागेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली पुग्नुअघि नै स्थानीय बासिन्दाले घाइते चालकलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाएका थिए।

हाल चालकको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८२ १८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App