मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन्।
बाराको कलैया उपमहानगरपालिका-१ घर भई हाल काठमाडौंको माइतीघर बस्दै आएका १७ वर्षीय प्रणय गुप्ता (कर्ण) बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, गुप्ता शनिबार आफ्ना साथीहरूसँग मकवानपुरको पर्यटकीय क्षेत्र मार्खु घुम्न आएका थिए। सोही क्रममा दिउँसो करिब साढे ४ बजे सिम्लाङ खोलामा पौडी खेल्दा उनी डुबेर बेपत्ता भएका हुन्।
घटनालगत्तै उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, चित्लाङ तथा प्रहरी पोष्ट मार्खुबाट खटिएको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको छ।
हालसम्म उनको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ असार २०८२ २०:१० शनिबार





