१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियो चिकित्सकको टोली

जुम्लाको पातारासी–४ मा रहेको ऋमोक्ष मावि डिल्लीचौरमा विद्यार्थी बिहीबारदेखि बिरामी हुन थालेसगैं  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको छ।  

विद्यालयका केही विद्यार्थीमा रुने, कराउने, काम्ने र ढल्ने लगाएतका लक्षण देखिएसगैं चिकित्सकीय टोली बोलाइर विद्यार्थीको उपचार गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अचानक यस्ता लक्षण देखिन थालेका हुन्।  

विद्यालयमा पहिलो दिन २२ जना किशोरी बिरामी परेका थिए भने दोस्रो दिन  १८ किशोरीसहित १ किशोर बिरामी भएका थिए ।  ३ सय २५ जना अध्ययनरत  विद्यालयका ४० भन्दा बढी विद्यार्थी बिरामी परेका हुन्। विद्यार्थीमा स्वास्थ्य समस्या देखिएसगैं जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा आलोक शाह र मनोपरामर्शदाता नन्दराज आचार्य सहितको टोली विद्यालयमा पुगेको थियो।  

विद्यालयमा स्वास्थ्य जाँच गर्नुका साथै झण्डै तीन घण्टा मनोपरामर्श प्रदान गरिएको प्रधानाध्यापक कृष्ण बुढाले बताए। ‘मनोपरामर्शपछि केही बिरामी विद्यार्थीको स्वास्थ्यमा सुधार आएको छ,’ उनले भने, ‘अझै केही बिरामी नै छन्।’  

चिकित्सकको टोली सोमबार बिहानै पुगेकाले विद्यार्थीले बिरामी हुदाँ गर्ने हरेक क्रियाकलाप समेत नजिकबाट निगरानी गरेका थिए । प्रधानाध्यापक बुढाले मनोपरामर्शले केही सुधार देखिएका विद्यार्थी समेत टोली फर्किएपछि पुनः बिरामी परेको बताए।

 ‘धामीझाँक्रीदेखि चिकित्सक र मनोपरामर्शदाता ल्याउँदा समेत विद्यार्थी पूर्ण रूपमा निको भएनन्,’ उनले भने, ‘त्यसैले बिरामी विद्यार्थीलाई एक साता बिदा दिने तयारी विद्यालयले गरेको छ।’  

पहिलो दिनमा जो विद्यार्थी बिरामी भइरहेका थिए, निरन्तर तीन दिनसम्म उनीहरूलाई नै त्यस्तो लक्षण देखा परिरहेको छ। मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार मानसिक तनाव थेग्न नसक्दा विद्यार्थीहरू बिरामी परेको बताउँछन्। उनका अनुसार बिरामीलाई एक्लाएक्लै राखेर परामर्श दिइएको थियो। सामूहिक रूपमा पनि झण्डै तीन घण्टासम्म परामर्श दिइएको थियो।  

तर बिरामी विद्यार्थीको स्वास्थ्यमा सुधार आउन सकेन। दुई–तीन जना विद्यार्थीलाई सदरमुकाम अस्पताल ल्याउनसमेत भनिएको छ। उनीहरूले विद्यालयलाई हरेक दिन योगा गर्नेदेखि परामर्श दिनेसम्मको काम गर्न सुझाव दिएका छन्। चिकित्सक टोलीसँगै पातारासी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टोली विद्यालयमा पुगेर अवलोकन गरेका छन्। 

 केही दिनअघि जुम्लाको सिंजा ६ स्थित शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा समेत यस्तै समस्या देखिएको थियो । विद्यार्थीहरु रुने, कराउने र बेहोस हुनेजस्ता समस्या देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो। 

विद्यालयमा धामी झाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक कार्य पनि गरिएको थियो । यो घटना अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका कारणले हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन्।   

प्रकाशित: १२ जेष्ठ २०८३ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App