१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन शुक्रबार वसन्तपुरमा सामूहिक दीप प्रज्वलन गरिने

भोटेकोशी बाढी आएको एक महिना पुगेको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन गरिने भएको छ ।

जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी शुक्रवार (१६ असोज) दिउँसो ३ बजेदेखि साँझ ६ः१५ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा हुनेछ ।

एक्शनएड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र युथ एड्भोकेसी नेपाललगायत संस्थाहरू कार्यक्रमका आयोजक रहेका छन् । ‘हरेक पाइला ऐक्यबद्धताको प्रतीक बनोस्, हरेक दीपले जीवनको सम्मान गरोस् र हरेक आवाजले जलवायु न्यायको माग गरोस्’ भन्ने सन्देशसहित दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएकाछन् ।  

कार्यक्रममार्फत तीन प्रमुख माग अघि सारिने आयोजकले जनाएको छ । प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा तथा जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने, पुनस्र्थापना, अनुकूलन तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने तथा प्रमुख उत्सर्जकले उत्सर्जन घटाउँदै जलवायु संकटबाट भएको क्षतिको उचित जिम्मेवारी लिनुपर्ने माग अघि सारिनेछ ।

प्रकाशित: १४ आश्विन २०८३ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App