सामान्य आँखाले हेर्दा विकट, तर प्रकृतिको आँखाले हेर्दा अनुपम उपहार हो– जुम्लाको पातारासी गाउँपालिका। हिमालको काखमा अडिएको, हावापानीले सुम्सुम्याएको र जैविक विविधताले भरिएको यो भूभाग आज प्राकृतिक सौन्दर्यसँगै पर्यटकीय सम्भावनाका दृष्टिले पनि उज्यालो हुँदैछ। त्यही उज्यालो भित्र लुकेको छ – रातामाटा छहरा, जसलाई स्थानीयले शंकर झरना भनेर पनि चिन्छन्।
न त सरकारी सूचीकृत पर्यटकीय स्थल हो, न त ठूला संरचना बनाइएका छन्। तर पनि, यो झरना आफैँमा एक अनुपम आकर्षण बनेर हजारौं पर्यटकको मन जित्दैछ।
जुम्लाको पातारासी गाउँपालिका–२ को पेरेगाउँमा अवस्थित रातामाटा झरना जुनसुकै ऋतुमा पनि अविरल बगिरहन्छ। झरनाको आवाज आफैँमा एक संगीतजस्तै लाग्छ । न उरुस, न बाँसुरी तर सुन्दा आत्मा शान्त बनाउने एउटा प्राकृतिक राग। समीपको हरियाली, जङ्गलको सघनता, हिमालबाट बग्ने जवा नदीको छेउछाउ र झरनाबाट उड्ने पानीका फोहराहरूले यो स्थललाई कुनै चलचित्रको दृश्यजस्तै बनाउँछ।

पर्यटकहरू त्यहाँ पुगेर थकान बिर्सन्छन्, फोटो र भिडियोमा कैद गर्छन् अनि फर्केर आफ्ना सञ्जालमा साझा पनि गर्छन्। पातारासी गाउँपालिका नाम राखिनुको पछाडि रहेको छ-यहीँको पातारासी हिमाल, जसले पर्वतारोहण, पदयात्रा र जडीबुटी संकलनमा अपार सम्भावना बोकेको छ। यही भूभागमा उत्पादन हुन्छ विश्वकै सबैभन्दा अग्लो स्थानमा फल्ने सुप्रसिद्ध जुम्ली मार्सी धान, जुन पातारासी–३ स्थित छुमचौरमा खेती गरिन्छ।
सिमी, मकै, कोदो, फापर, चिनो, जौ, गहुँ, आलु लगायतका रैथाने बालीहरू यहाँ प्रशस्त मात्रामा उत्पादन हुन्छन्।प्राकृतिक शुद्धता, जैविक उत्पादन र मौलिक संस्कृतिले पातारासीलाई "नेपालकै जैविक हिरा" बनाइरहेको छ।रातामाटा छहरासम्म पुग्न जुम्लाको सदरमुकाम खलंगाबाट करिब १ घण्टा ३० मिनेटको मोटरयात्रा पछि पेरेगाउँ पुगिन्छ। त्यहाँबाट करिब ४५ मिनेट पैदल हिँड्दा झरनाको काखमा पुग्न सकिन्छ।
स्थानीय सरकार र समाजसेवीहरूको पहलमा झरनासम्मको बाटो निर्माण भएको छ। २०७८ पुस ३ गतेदेखि २०८१ असार १५ गतेसम्म सम्पन्न भएको यो योजनामा पातारासी गाउँपालिकाबाट ४ लाख ७० हजार रुपैयाँ र जनश्रमदानमार्फत १ लाख १३ हजार ७ सय २१ रुपैयाँ संकलन गरिएर कुल ५ लाख ८३ हजार ७२१ रुपैयाँमा बाटो निर्माण सम्पन्न भएको हो।कार्यक्रमका अध्यक्ष टेकबहादुर बुढा भन्छन्,।

झरना आफैंमा अनुपम छ। यसलाई संरक्षित गर्दै प्रचारप्रसार गर्न सके पातारासीको पर्यटकीय छवि झनै बलियो हुनेछ। यति मनमोहक र सम्भावनायुक्त स्थल हुँदै पनि रातामाटा छहरा हालसम्म प्रदेश वा संघीय सरकारको सूचीकृत पर्यटकीय सूचीमा परेको छैन। स्थानीय बिर्ख बहादुर बुढा भन्छन्,“हामीले सक्दो प्रयास गरेका छौँ, अब राज्यको ध्यान जान जरुरी छ। यहाँ प्रतीक्षालय, पक्की बाटो, बास खानपिनका सुविधा आवश्यक छन्।"
रातामाटा छहरा केवल एउटा झरना होइन, यो सम्भावना हो, सुन्दरता हो, र सिंगो पातारासीको पर्यटकीय गन्तव्य बन्ने बाटो हो।पातारासीको उतरी भेगमा रहेको यो झरना पातारासी गाउँपालिकाको लासि बजार ,लाम्री,लुम,तल्फि पेरे,धोपाघाट हुदै पुग्न सकिन्छ।लासी देखि खोर भन्ने ठाउँ सम्म १५ मिनेट लाग्छ।
झरनासम्म पुग्न सवारीसाधनको यात्रापछि करिब एक घण्टाको पैदल हिँडेपछि पुग्न सकिन्छ।बिचमा भेडा र गाई राख्ने (खर्क) गोठहरु छन्। संकर झरनामा १२ महिनानै पानी झर्ने हुँदा यो झरनाको महत्व बढेको देखिन्छ। माथि बाट एक भएर आउँछ, तर बिचमा ३ वटा भएर पानी झर्ने गर्दछ।
अहिले त्यस क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको देखिन्छ। अग्लो पहाडबाट खसेको झरनाको दृष्यले मन लोभ्याउँछ। आसपासका दृष्य पनि सुन्दर छन्। लेकबाट आएको पानीले बनेको यो झरना सुन्दर छ। साथै आसपासमा घुम्ने ठाँउपनि छन्।यो ठाँउलाई आर्कषक पर्यटकीय गन्तव्य बनाउनका लागि काम गर्नुपर्ने छ।
प्रकाशित: २४ आश्विन २०८२ २०:०३ शुक्रबार





