३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

न्याय र निष्ठाको एक शताब्दी: वरिष्ठ अधिवक्ता भण्डारी १०० वर्षमा प्रवेश

नेपालको कानुनी क्षेत्रका जीवित इतिहास एवं मानवअधिकार र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी १०० वर्षमा प्रवेश गरेका छन्।

वरिष्ठ अधिवक्ता भण्डारीको १००औं जन्मोत्सव (शताब्दी जन्मदिवस) को अवसरमा देशका विभिन्न कानुन व्यवसायी, राजनीतिक नेता, मानवअधिकारवादी तथा नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले थापागाउँस्थित लेखनकुञ्जमा सार्वजनिक समारोह आयोजना गरी शुभकामना एवं सम्मान व्यक्त गरेका छन्।

पञ्चायतकालको कठिन समयमा नागरिक स्वतन्त्रता र राजनीतिक बन्दीहरूको पक्षमा निडर भई वकालत गरेका भण्डारीलाई नेपालको कानुनी जगत्मा ‘जुनियर सर’ को आदरार्थी नामले चिनिन्छ।

१९८३ सालमा जन्मिएका भण्डारीले आफ्नो जीवनको झन्डै सात दशकभन्दा बढी समय देशको न्याय प्रणालीको सुधार, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि समर्पित गरेका छन्।

पञ्चायतविरुद्धको आन्दोलन र कानुनी सम्प्रभुताका मेरुदण्ड

जन्मोत्सवका अवसरमा आयोजित एक विशेष चियापान तथा अभिनन्दन कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारीहरू तथा वरिष्ठ कानुनविद्हरूले भण्डारीको योगदानको स्मरण गरे।  

वक्ताहरूका अनुसार २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि सुरु भएको कानुनी र राजनीतिक प्रतिरोधी आन्दोलनमा भण्डारीको भूमिका अविस्मरणीय रहेको थियो।

वरिष्ठ अधिवक्ता भण्डारीले बिपी कोइराला, रामहरि जोशी, कृष्णप्रसाद भट्टराईलगायत शीर्ष नेताहरू राजनीतिक बन्दी बनाइँदा उनीहरूको पक्षमा अदालतमा निर्भीकताका साथ बहस गरेका थिए।

सत्ता र शक्तिको प्रलोभन वा डरमा कहिल्यै नझुक्ने उनको स्वाभिमानी स्वभावले नयाँ पुस्ताका कानुन व्यवसायीहरूलाई सधैं मार्गदर्शन गरिरहने कार्यक्रमका सहभागीहरूले बताए।

नाम ‘जुनियर’, कर्मले सबैभन्दा ’सिनियर’

समारोहमा १०२ वर्षीय दिव्यशताब्दी पुरुष डा. गौरीशंकरलाल दासले पुष्पगुच्छासहित दीर्घायुको कामना गर्दै १०० वटा दीप प्रज्वलनको सुरुआत गरेका थिए।

समारोहमा उपस्थित पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले नेपालमा कानुनी शिक्षा सुरु गराउने शताब्दी पुरुषलाई सुस्वास्थ्यको कामना गर्दै आफूलाई मुलुकी ऐन पढाएको स्मरण गरेका थिए।

पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले विचार, निष्ठा, सादगी र उचाइका दृष्टिले नेपालकै सबैभन्दा ‘सिनियर’ र आदरणीय अभिभावक भएको बताए।

वरिष्ठ अधिवक्ता हरि उप्रेतीले नयाँ र कनिष्ठ वकिलहरूलाई सधैं माया गर्ने, सिकाउने र उनीहरूको व्यावसायिक हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकाले नै नेपालको कानुनी क्षेत्रमा श्रद्धापूर्वक गुरुदेव भनेर सम्बोधन गर्ने गरिएको बताए।

यसैगरी डा. रामकृष्ण तिमल्सेनाले अहिलेका पुस्ताले गुरुदेव कृष्णप्रसाद भण्डारीको स्मृति अभिलेखबद्ध गर्न सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा सञ्चारकर्मी ठमनाथ घिमिरेले ‘१०० वर्षको यो ऐतिहासिक केसोढुंगा चुमिरहँदा पनि उहाँमा देशको समसामयिक राजनीति, न्यायपालिकाको गरिमा र कानुनी शासनको अवस्थाप्रति उत्तिकै चासो र चिन्ता रहेको’ बताए।

कार्यक्रममा जगदिशचद्र बराल, पुष्पराज लुइँटेल, द्वारिकानाथ शर्मालगायतका सहभागीले पनि शुभकामना मन्तव्य राखेका थिए।

शताब्दी पुरुष जन्मोत्सवको अवसरमा नेपाल बार एसोसिएसन, विभिन्न कानुनी प्रतिष्ठानहरू र नागरिक समाजका प्रतिनिधिहरूले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै नेपालको कानुनी इतिहासमा उनको योगदानलाई स्वर्ण अक्षरले लेखिने बताए।

कार्यक्रमका सहभागीहरूले शताब्दी पुरुष भण्डारीको यो जीवनयात्रा नेपालको न्यायपूर्ण आन्दोलनको एउटा सिंगो विश्वविद्यालयका रूपमा जीवन्त रहने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रम लेखनकुञ्ज नेपालका अध्यक्ष कमल ढकालले अयोजना गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०८३ २१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App