नेपाल आयल निगमले बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका हेलिकप्टरलाई सहज रूपमा हवाई इन्धन उपलब्ध गराउन १६ हजार लिटर क्षमताको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको छ।
विमानस्थलभित्र मात्र प्रयोग हुने रिफ्युलर गाडी आपतकालीन अवस्थालाई ध्यानमा राख्दै पहिलो पटक विमानस्थल बाहिर पठाइएको हवाई इन्धन डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा रिफ्युलर नुवाकोट पठाइएको उनले जानकारी दिए।
रिफ्युलर नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकसम्म पुग्न नसके धादिङको गजुरी ब्यारेकमा राखिने उनले जानकारी दिए।
विशेष परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाका दुई प्रतिनिधि र नेपाल आयल निगमका तीन प्रतिनिधिको सुरक्षा तथा निगरानीमा गाडी परिचालन गरिएको छ।
उद्धारमा संलग्न नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरले इन्धन भर्न काठमाडौं फर्किनुपर्ने बाध्यता हटाउन पठाइएको उनले जनाए।
नुवाकोटमै इन्धन उपलब्ध भएपछि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य अझ छिटो, प्रभावकारी र निरन्तर सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।
प्रकाशित: १० भाद्र २०८३ १५:०३ बुधबार





