रौतहट प्रहरीले लाखाैँ मूल्य बराबरको भन्सार छली ल्याएको चिनी तथा मलखाद बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा करिब आठ लाखको चिनी र डिएपि मल बरामद गरेको हो। रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ सानो लतमरीमा त्रिपालले छोपी राखेको अवस्थामा प्रहरीले ६ लाख ९८ हजार मूल्य बराबरको १५९ बोरा चिनी र २५ बोरा डिएपि मल बरामद गरेको हो।
भारतबाट लुकीछिपी भन्सार छलेर ल्याई लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको चिनी र मलखादलाई जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ। गौर भन्सारले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०७९ १२:४५ बुधबार