८ वैशाख २०८१ शनिबार
समाज

दुई अर्बको हतियार खरिद गर्दै सेना

नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। ‘सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने अन्तिम तयारी गरेको छ,’ सैनिक उच्च स्रोतले भन्यो। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो। नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ।  

‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो। दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ।  

सो विषयमा प्रधानसेनापति प्रभुराम शर्माले पटकपटक कुराकानी गरे पनि चुनावअघि डलरको व्यवस्था गर्न नसकिने जानकारी अर्थ मन्त्रालयले दिएको छ। ‘हतियार खरिद गर्ने स्वीकृति दिइसकिएको छ, सेनाले अमेरिकाबाट हतियार ल्याउने प्रक्रिया पनि सुरु गरिसकेको छ तर डलर अभावले केही समय रोकिएको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने। आगामी निर्वाचन र बंकर टु ब्यारेकका निम्ति सरकारले सेनालाई छुट्याएको बजेट प्राप्त नभएको विषयमा पनि सेनाले अर्थ मन्त्रालयसँग ताकेता गरेको मन्त्रालय स्रोतले जनाएको छ। सेनाले आफूसँग भएको इन्सास राइफल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) हतियार सशस्त्र प्रहरी र इन्सास, एसएमजी र एलएमजी नेपाल प्रहरीलाई हस्तान्तरण गरिरहेको अवस्थामा नयाँ हतियार खरिद गर्न लागेको हो।  

मुलुकको आर्थिक अवस्था कमजोर भएको भन्दै नेपाल प्रहरीलाई हतियार किन्न रोक लगाउने सरकारले सेनालाई भने खुसुक्क स्वीकृति दिएको थियो। सेनाले ६ हजार थान एम–१६, एम–४ हतियार र पेस्तोल किन्ने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। राष्ट्रिय सुरक्षालाई कारण देखाएर सेनाले यो खरिद प्रक्रियालाई अति गोप्य राखेको थियो। सेनाको हतियार खरिदमा ठुलो कमिसनको खेल रहेको स्रोतको दाबी छ। पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा बिचौलियाको माध्यमबाट दक्षिण कोरियाबाट एम १६ हतियार ल्याएको थियो। मुलुकको अर्थतन्त्र कमजोर रहेको बेला सो हतियार खरिदका लागि प्रधानसेनापति शर्माले अर्थ मन्त्रालयलाई चाँडै डलरको व्यवस्था गरिदिन दबाब दिएका छन्।  

भारतबाट २० लाख राउन्ड गोली  

आठ वर्षदेखि एक चिनियाँ कम्पनीबाट गोली खरिद गर्दै आएको सेनाले यो वर्ष भारतीय कम्पनीबाट ल्याउन लागेको छ। सैनिक उच्च स्रोतका अनुसार सेनाले प्रयोग गर्ने असल्ट राइफलको गोली भारतीय कम्पनीले उपलब्ध गराउन लागेको हो। भारतको आन्ध्र प्रदेशस्थित एक कम्पनीमा उत्पादित गोली सेनालाई पठाउन लागिएको हो। ५ दशमलव ५६ एमएमको गोली सेनाले पाउनेछ। नेपाल सरकार–भारत सरकारबीच भएको जिटुजी सम्झौताअनुसार सो गोली उपलब्ध हुन लागेको भए पनि नेपाली सेना र रक्षा मन्त्रालयले कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्।  

भारतले २० लाख राउन्ड गोली दिएसँगै आठ वर्षदेखि चीनले उपलब्ध गराउँदै आएको गोलीमा कटौती भएको छ। ‘यसअघि सोही एमएमको गोली चीनले उपलब्ध गराउँदै आएको थियो तर यसपटक भारतले २० लाख राउन्ड गोली पठाउँदै छ, आठ वर्षदेखिको चिनियाँ एकाधिकार तोडिएको छ,’ एक उच्च सैनिक अधिकृतले भने। सेनाले प्रयोग गर्दै आएका अधिकांश हतियार भारतसँग खरिद गर्ने गरेको भए पनि द्वन्द्वकालमा भारतसँग खरिद गरेको हतियार इन्सासले समयमै काम नगरेपछि ठुलो क्षति  

बेहोर्नुपरेदेखि सेनाले भारतसँग हतियार खरिद रोकेको थियो। ‘अनुदानमा आएको बाहेक हतियार खरिद प्रक्रिया रोकिएको थियो। अहिले २० लाख थान गोली खरिद गर्न लागेको हो,’ सेनाका ती उच्च अधिकारीले भने।

प्रकाशित: २० कार्तिक २०७९ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App