२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मतदाता शिक्षासहित निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन सञ्चारकर्मीसँग सहयोग माग

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले मतदाता शिक्षा प्रभावकारी बनाउन कर्तव्यनिष्ठा बनेर कार्य सम्पादन गर्न मतदाता शिक्षा स्वयंसेवकलाई आग्रह गरेको छ। निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन सञ्चारकर्मीको भूमिका बलियो हुने भन्दै आम सञ्चारकर्मीहरुबाट यस कार्यमा सहयोगको याचना समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यक्त गरेको छ।

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रमा जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएको बताउँदै यसलाई निष्पक्ष र पारदर्शी बनाउन सरोकारवालाको भूमिका बलियो हुने बताइन्।

सञ्चारकर्मीहरुले निर्वाचनलाई सभ्य, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रक्रियामा तथ्य सूचनाका आधारबाट अमूल्य सहयोग गर्न सक्ने उनको विश्वास रहेको थियो। जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले निर्वाचन कार्यक्रमलाई व्यवस्थित र संयमित ढंगले सम्पन्न गराउने एक अंक आम सञ्चारसंस्था र सञ्चारकर्मी भएकोमा जोड दिए।

भरपर्दो शान्ति सुरक्षा पुर्‍याएर निष्पक्ष, पारदर्शी र भयरहित हिसाबले निर्वाचन सम्पन्न गराउने दिशामा जिल्ला निर्वाचन समन्वय समिति तत्पर रहेको बताउँदै प्रजिअ पोखरेलले निर्वाचन कार्यक्रमको प्रभावकारितामा सञ्चारकर्मी र सञ्चारसंस्थाहरुले सहयोग गर्नुपर्ने बताए।

उनले आचारसंहिताको पालनामा दल तथा उम्मेदवार गम्भीर बन्नुपर्ने र यसको निगारानीमा समेत सञ्चारकर्मीहरुबाट भरपर्दो सूचना आउनुपर्नेमा जोड दिए। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले निर्वाचनलाई सभ्य ढंगबाट सम्पन्न गर्न विगतमा झैं सञ्चारकर्मी र सञ्चारसस्थाहरुबाट सहयोगको अपेक्षा राखेको बताए।

निर्वाचन आयोगले कात्तिक १८ गतेबाट मंसिर १ गतेसम्म मतदाता शिक्षा अभियानका लागि मतदाताको घरदैलोमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दैछ। सम्बन्धित पालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका कम्तीमा एसइई वा एसएलसी वा सो सरह उत्तीर्ण गरी तटस्थ रुपमा मतदाता शिक्षा सञ्चालन गर्न सक्ने व्यक्तिलाई यो अभियानका लागि खटाउने जिम्मेवारी पाएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App