२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगे। उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी छिन्। स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन्।

सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि उच्च रक्तचाप र दमको समस्या छ। आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो। गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी छन्।  

उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि यपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ। उक्त नगरपालिकामा चालु आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो। प्रत्येक महिनको २० देखि २४ गतेसम्म स्वास्थ्यकर्मी घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको  मासिक स्वास्थ्य र अवस्थाबारे  अभिलेख राखिनका साथै  आवश्यक परामर्श प्रदान गर्ने पनि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ख्यामबहादुर क्षेत्रीले बताए। 'घरघरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीन सय ज्येष्ठ नागरिकले लाभ लिएका छन्', उनले भने, 'यसबाट अशक्त, अपाङ्ग, दीर्घरोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरिकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ।'

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

जनताका बीचमा गरिएको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकलाई घरआँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए। उनले भने, 'हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ। स्वास्थ्य चौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँ।' 

पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायत आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको छ। सबै लाभग्राहीको छुट्टाछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ। प्रत्येक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घरघरमा स्वास्थ्य परीक्षण गरिएको र घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहान भत्तासमेत उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए। रासस

प्रकाशित: १५ कार्तिक २०७९ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App