२७ चैत्र २०८१ बुधबार
image/svg+xml १२:४१ अपराह्न
समाज

बुलिङटारमा बस दुर्घटना: ५ जनाको मृत्यु, ३० जना घाइते

शनिबारका दिनभर तारा विक (माईला) आफ्ना आफन्त र साथीभाईसँग मनकामना मन्दिर दर्शन गर्न जाने योजना बनाउँछन्। रातको ११ बजे मनकामना दर्शन गर्न ५० जनाको समूह पाल्पाबाट मनकामना दर्शनका लागि अगाडी बढेको थियो। तर तारा र उनका आफन्त साथीहरुको योजना पुरा हुन पाएन।  

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो। लु ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा विहान ३ बजे दुर्घटना भएको थियो। बस दुर्घटनामा परि रम्भा गाउँपालिका वडा नं. १ हुँगी बस्ने अन्दाजी ४१ वर्षिय तारा वि.क उनकी आमा अन्दाजी ६२ वर्षिय धन कुमारी वि.क., तारा कै भान्जा अन्दाजी १७ वर्षिय विनय वि.क., सोही स्थानका अन्दाजी ५८ वर्षिय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षिय फुलमायाँ माझीको मृत्यु भएको ईलाका प्रहरी डेढगाउँले जनाएको छ।

मनकामना दर्शनको योजना बनाएका तारा र उनका आफन्तको घरमा अहिले रुवाबास चलेको छ। झण्डै ८ वर्ष वैदेशिक रोजगारमा बसेका घर फर्कीएका तारा विगत २ वर्षदेखी गाउँमै सिकर्मी काम गर्दै आएका थिए। गाउँले र आफन्तजनसँगै मनकामना दर्शन गरेर पुण्य कमाउने माईला (तारा) को योजना अधुरै भएको छ। गाउँलेले २ हजार ५ सय रुपैयाँमा आउने जाने भाडा सहित दुई वटा बस व्यवस्थापन माईला आफैँले गरेका थिए। बस दुर्घटनामा परि माईलाको परिवारका श्रीमति माया, छोरा अभिनाश र छोरी अस्मिता सँगै आँफैसँग काम गर्ने, भान्जाभान्जी र नातीनातिना समेत घाईते अवस्थामा छन्।  

बस दुर्घटनामा परि २ पुरुष र ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। बस दुर्घटनामा घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम वि.क., २१ वर्षिय रिता वि.क, २५ वर्षिय कासीराम वि.क., १ वर्षिय आईसा वि.क., १६ वर्षिय अविनास वि.क., १७ वर्षिय विशाल वि.क., ७ वर्षिय पुष्पा वि.क., ४७ वर्षिय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिल माया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा वि.क. छन्।

यस्तै रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा वि.क, रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय वि.क., ३६ वर्षिय मायाँ वि.क, स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार वि.क, सोही स्थानका ३० वर्षिय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर वि.क., ४५ वर्षिय सेती वि.क. र ४८ वर्षिय शिव कुमारी वि.क. रहेको छन्।

चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन्। घाईतेहरुको अहिले नारायणी सामुदायिक अस्पताल नारायणघाटमा उपचार भैरहेको छ। मृतकहरुको पाल्पाको रामपुर अस्पतालमा पोष्टमार्टम गरि गाउँमा ल्याइएको छ। उनीहरुको सोमबार अन्त्येष्टी गरिने परिवारजनले बताएका छन्।

बस सडक बाट झण्डै सय मिटर तल खसेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।

प्रकाशित: १३ कार्तिक २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App