१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

यसरी मनाइयो विराटनगरमा छठ(तस्बिरहरु)

तराईमा हर्सोल्लासका साथ मनाई छठ पर्व विराटनगरमा पनि मनाइएको छ। आइतबार  अस्ताउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व मनाइएको हो।  

छठ पर्वका लागि विराटनगरका विभिन्न खोलाका घाटहरू, नहर,पोखरी लगायतका स्थानलाई सजाइएको छ।  विराटनगरको सिंघिया नदिका घाटहरू र किनाराहरू सजाएर झकिझकाउ पारिएका थिए। यस्तै केशलिया नदि, विराटनगरका विभिन्न स्थानका नहरहरू र पोखरीका डिलहरू सजाइएका छन्। सूर्यको उपासना गरेर विशेष गरी तराई क्षेत्रका विभिन्न समुदायका वासिन्दाले छठ पर्व मनाउने गरेको भए पनि पछिल्ला वर्षहरूमा पहाडी समुदायका भक्तजनहरूले पनि यो पर्व मनाउन थालेका छन्।

सबै हिन्दुहरूले साझा पर्वका रुपमा छठ पर्वलाई मनाउन थालेपछि विराटनगरमा छठको वर्त बसी घाटहरूमा सूर्यलाई अर्घ दिने भक्तजनहरूको भीड लाग्न थालेको छ। छठ पर्व मनाउन घाटहरूको व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले समेत विशेष ध्यान दिंदै आएको छ। महानगरपालिकाले हरेक वर्ष छठ पर्वका लागि नदिका घाटहरू, नहर र पोखरीहरूको सरसफाई गर्दै आएको छ।  छठ पर्वलाई हिन्दुहरूको प्रमुख पर्वका रुपमा लिंदै प्रदेश १ को सरकारले कात्तिक १४ गते सोमबार समेत सार्वजनिक बिदा दिएको छ।  

छठमा ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ। यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ। छठको पहिलो दिन‘ ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछन्। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन गर्ने परम्परा रहेको छ।

प्रकाशित: १३ कार्तिक २०७९ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App