८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

छठ अनुष्ठानमा मस्त मधेस

शुक्रबार ‘नहायखाय’ विधिबाट विधिवत रुपमा छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका व्रतालुहरुले शनिबार ‘खरना’ विधि गरेका छन्। व्रतालु चोख्याइएको एक कोठाभित्र खिर, केरालगायतका परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गरेका छन्।

‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले व्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छरछिमेकलाई बाँडछन्। व्रतालुहरुले शनिबार साँझ खरनाको प्रसाद ग्रहण गरेपछि आइतबार दिनभरि निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै गरेको सूर्य र सोमबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र व्रत तोड्ने छन्।

आइतबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन्। नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ। विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्दछन्।

छठ घाटमा व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बासको सुपुलीमा नरिवल लगायत विभिन्न पूजा सामग्रीहरुको अर्घ दिने छन्। त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन्। ‘छठ मात्र एउटा यस्तो पर्व हो जसमा व्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ व्रतालु अम्बिका यादवले भनिन्, ‘व्रतालु आफैंले पूजा गर्छन्, माटोको हात्तीलाई पूजा गर्ने यो व्रतले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।’

छठ गीतमा मस्त मधेस

उगहे सुरज देव भेल भिनसरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो

बडकी पुरकारे देब दुनु कल दोरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो...

मधेसका बस्तीहरू शुक्रबारदेखि यो र यस्तै लोकगीतहरूले गुन्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठी पर्वका गीत झुन्डिएका छन्।

केलवा के पात पर उगेलन सुरुज मल झाके झुके

हे करेलु छठ बरतिया से झाके झुके...

छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ।

काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय

होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय...

अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पुर्‍याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून्।

सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरीलगायत भाषामा गाइएका प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन्।

छठ पर्व कुनै समय प्राचीन मिथिला र भोजपुरा क्षेत्रमा मात्र प्रचलित थियो। कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भाषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हुँदै आयो। ‘छठ वास्तवमा मिथिलाको ग्रामीण पर्व हो’, झाले भने,‘छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन।’ छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन।

यसरी मनाइन्छ छठ

छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ।

दोस्रो दिन दिनभरि उपवास बसेका ब्रतालुले साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सख्खर, दूध र अरूवा चामलको खिर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउँछन्। छठी मातालाई चढाएपछि व्रतालुले ग्रहण गरी खराना मनाउँछन्। पर्वको तेस्रो दिनलाई ‘सँझिया घाट’तथा ‘सौंझका अर्घ’ भनिन्छ।

यो दिन बिहानैदेखि व्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पिठोमा सख्खर मिसाएर ठेकुवा, भुसुवालगायत प्रसाद तयार पार्छन्। साँझपख व्रतालुका साथै घरका सदस्य हातमा पूजासामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, तालतलैया, पोखरी किनारमा छठी घाट बनाइन्छ।सजाइएको छठी घाटमा ब्रतालु भक्तिभावका साथ उपस्थित भइ सूर्यको पूजा गर्छन्।

प्रकाशित: १२ कार्तिक २०७९ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App