५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

फाइल तस्बिर।

काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो।

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

तिहारको पाँचौँ दिन आज भाइटीका दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य  ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको थियो।

दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी–बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ। त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिएको कथा छ।

प्रकाशित: १० कार्तिक २०७९ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App