५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘नारदमुनि गोल्डकप’ असोज १७ गतेदेखि

उदयपुरको पहिलो र सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप’ आउँदो असोज १७ गतेदेखि सुरु हुने भएको छ।

बसाहा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १०औं संस्करणबारे जानकारी गराएको हो।

चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रंगशालामा असोज १७ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। क्लबका अध्यक्ष गौतम राईका अनुसार गत वर्षको विजेता बागमती युवा क्लब सर्लाही र उपविजेता न्यु त्रियुगा स्पोर्ट क्लब सप्तरीसहित आठ समूहले यस प्रतियोगितामा भाग लिने पक्का भएको छ।

प्रतिस्पर्धी समूहमा झापा ११, विराट मेघा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ फुटबल क्लब काठमाडौं, सहलेश क्लब सिराहा र संकटा फुटबल क्लब काठमाडौं पनि सहभागी हुनेछन्।

प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित नगद ५ लाख, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई नगद २ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। 

त्यसैगरी, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार र ट्रफी दिइनेछ। साथै, बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर लगायत सात विधागत पुरस्कारका विजेतालाई नगद ५ हजार र ट्रफी प्रदान गरिनेछ।

उदीयमान खेलाडीलाई पनि विशेष उपाधि र पुरस्कार दिइने योजना क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार शेखर राईले बताए।

सल्लाहकार राईका अनुसार प्रतियोगिता आयोजना गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ, भने ६० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा राखिएको छ। क्लबले आर्थिक अभावका कारण प्रायोजक र चन्दादाताहरूको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगिताबाट बाँकी रहने बजेट अक्षय कोष स्थापना गरी स्थायी आम्दानीको स्रोत बनाउने योजना पनि अघि बढाइएको छ। क्लबका सल्लाहकार शेखर राईले भने, "सँधै प्रायोजक र चन्दाको भरमा प्रतियोगिता गरिरहनुपर्ने अवस्थाबाट मुक्ति पाउन, हामीले स्थायी कोषको स्थापना गर्ने तयारी गरेका छौं।"

नारद मुनि थुलुङ राई उदयपुरको बसाहा क्षेत्रमा प्रजातान्त्रिक आन्दोलनको क्रान्तिकारी योद्धा हुन्। ०४२/४३ सालताका बसाहा क्षेत्रको घना जंगल फाँडेर बस्ती बसाउने अग्रजका रूपमा उनलाई आदर्श पुरुषको रूपमा चित्रण गर्दै, उनको स्मृतिमा क्लबले यो प्रतियोगिता आयोजन गर्दै आएको हो।

नारद मुनिको नामबाट त्यहाँको क्याम्पस, विद्यालय र रंगशालासमेत नामाकरण गरिएको छ। यसै क्रममा आयोजना हुँदै आएको स्मृति गोल्डकपको यो दशौं संस्करण हुनेछ।

प्रकाशित: ५ आश्विन २०८१ २०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App