१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युएन दिवसमा सेमिनारसहितका कार्यक्रम

संयुक्त राष्ट्रसंघ स्थापना दिवसमा नेपाली सेनाले आइतबार मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको छ। विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेमिनारको आयोजना गरेको हो।  

सेमिनारको उद्घाटनसत्रमा मन्तव्य राख्दै मुख्य सचिव शंकर बैरागीले संयुक्त राष्ट्रसंघ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसंघमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराएका थिए। त्यस क्रममा उनले सन् १९५५ बाट संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै संयुक्त राष्ट्रसंघ नेपालको विकासका लागि एक महत्वपूर्ण साझेदारको रूपमा रहेको बताए र उनले संयुक्त राष्ट्रसंघ र यसका एजेन्सीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हाँसिल गर्ने प्रयासहरूमा पु¥याएको योगदानको प्रशंसासमेत गरे।  

मुख्य सचिव बैरागीले नेपाली शान्ति सैनिकहरू एकदमै छोटो जानकारीमा नै विना कुनै हिचकिचाहट संसारका ज्यादै चुनौतीपूर्ण परिस्थिति तथा स्थानहरूमा खटिई आफुलाई व्यवसायिक, दक्ष, समर्पित र भरपर्दो शान्ति सैनिकको रूपमा ख्याती र प्रतिष्ठा कमाउन सफल रहेको बताए। उनले शान्ति सैनिकहरूको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिदै महिला शान्ति सैनिकहरूको संख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसंघको आवश्यकता अनुसार दश हजार शान्ति सैनिकहरू खटाउन सरकार कटिबद्ध रहेको बताए।  

सेमिनारमा स्वागत तथा समापन मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने वीर शान्ति सैनिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौती हुँदाहुँदै सदैव आफूलाई अब्बल सावित गरी अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाउन सफल भएको बताए। युएन दिवसको अवसरमा सेनाले शनिबार मार्च पास, झाँकी, जुम्बा, व्याण्ड डिस्प्ले गरेको थियो।

प्रकाशित: ७ कार्तिक २०७९ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App