३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

गोरखा–मनाङ अन्तरजिल्ला बैठक: सीमावर्ती नाकामा कडाई गर्ने निर्णय

गोरखामा शनिवार भएको गोरखा–मनाङ अन्तरजिल्ला समन्वय बैठक। तस्बिर: नागरिक

गोरखा र मनाङको अन्तरजिल्ला बैठक शनिवार गोरखा सदरमुकाममा सम्पन्न भएको छ। बैठकले गोरखा र मनाङको सीमावर्ती उत्तरी नाकामा कडाई गर्ने, निग्रानी बढाउने, त्यहाँबाट हुने अवान्छित क्रियाकलाप रोक्ने निर्णय गरेको छ।

‘एक अर्को जिल्लाबिच सुचना अदान प्रदान गरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध हतियार, बिष्फोटक पदार्थ, लागु औषध,जडिवुटी, बन्यजन्तु, आदी अवैध बस्तुको चोरी निकासी र ओसारपोसार रोक्ने निणर्य भएको छ’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

गोरखाको सामागाउँ १ र मनाङको भिमथाङ नाका जोडिएको छ। एक जिल्लामा घटना घटाई अर्को जिल्लामा लुकिछिपी बस्ने, गुण्डागर्दीमा संलग्नको विवरण बनाई सुक्ष्म निग्रानी गर्ने गरी दुबै जिल्लाले योजना बनाउने भएका छन्। मनास्लु तथा अन्नपूर्ण पदमार्ग भित्र आउने पर्यटकको गतिविधि निग्रानी गर्ने र सुरक्षाका निम्ति सुचना आदनप्रदान गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए।

विपद् तथा महामारी जन्य रोगका कारण उत्पन्न हुने जोखिम तथा क्षतिको न्यूनीकरणका लागि समन्वयमा कामगर्ने, दुबै जिल्लाका सुरक्षा युनिटबिच समन्वय बढाउने, खोज, उद्धारमा सहकार्य गर्ने, सीमाभित्र पर्ने अवरुद्ध पदमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

निर्वाचन विरोधी गतिविधिको नियन्त्रण, आचारसंहिता उलंघनका क्रियाकलापको नियन्त्रण गर्न सुरक्षा समन्वयलाई थप प्रभावकारी बनाउने लगायत बिभिन्न ११ वटा निर्णय बैठकले गरेको छ।

यस्तो बैठकले दुबै जिल्लाको शान्ति सुरक्षा कायम राख्न मद्धत पुग्ने मनाङका प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले बताए। बैठकमा गोरखा र मनाङका सुरक्षा समितिका सदस्यहरु सहभागी थिए। गोरखाको मनास्लु पदमार्ग हुँदै लार्केपास गर्ने र मनाङको भिमथाङ निकस्ने गरी धेरै आन्तरिक तथा बाह्य पर्यटक आउजाउ गर्छन। गोरखाको जगत र सामागाउँमा चेकपोष्ट रहेको छ भने मनाङतर्फ पनि तीनठाउँमा चेकपोष्ट छ। सामागाउँ र भिमथाङको चेकपोष्ट बिच सहकार्य गरेर सुचना आदानप्रदान गरी पर्यटकको निग्रानी गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

यस अघि असोज २८ गते गोरखा, लमजुङ, तनहुँका सुरक्षा समितिका पदाधिकारीबिच अन्तर जिल्ला बैठक भएको थियो। मंसिर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण बनाउने, सिमाक्षेत्रबाट हुन सक्ने चोरी निकासी, अपराधिक गतिविधि नियन्त्रण गर्ने, सिमा जोडिएका जिल्लाबिचको सहकार्यका विषयमा उक्त बैठकमा पनि छलफल तथा निर्णय भएको थियो।

प्रकाशित: ५ कार्तिक २०७९ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App