गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाट पछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझ सम्ममा प्रहरीले ३०६.६१ तोला सुन बरामद गरेको छ।
केहि बेर अघि प्रहरीले नयाँ बसर्पाक छेउमा खाल्डो खनि पुरेको अवस्थामा थप ३३ थान अर्थात् ४६।६१ तोला सुनका गहना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रमुख (डिएसपी) कैलाश राईले तीन पोकामा रहेको सुन खाल्डो खनि परेको अवस्थामा फेला पारिएको जानकारी दिए।
त्यहिँ आसपासबाट घटनाकै दिन प्रहरीले घटनाका मुख्य अभियुक्त राजन भनिने राजयन्द्र पोर्तेललाई नियन्त्रणमा लिएको थियो। शुक्रबार दिउँसो प्रहरीले फुङलिङ नगरपालिका वडा न. ४ स्थित झाडी जंगलमा प्रहरीले थप ८९ थान अर्थात् १ सय १७ तोला सुनका गहना फेला पारेको थियो। प्रहरीले लुटपाटका सबै चार आरोपीहरुलाई नियन्त्रणमा लिइसकेको छ।
यसअघि प्रहरी आरोपीको साथबाट बरामद गरिएको १ सय ४३ तोला सुनका गरहगना र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित सार्वजनिक गरिएको थियो। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्। श्रेष्ठबाट हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।
आरोपितहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोल समेत देखाएर नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेर लगेका थिए। घटनाको थप अनुसन्धानका लागि प्रहरीको प्रादेशिक अनुसन्धान टोली फुङलिङमा रहेको छ।
प्रकाशित: ४ कार्तिक २०७९ १५:४९ शुक्रबार