२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

संकटमा मादल व्यवसाय

बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन्।  

तर, अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने काम गर्छन्। मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो। बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो।  

अहिले छोराहरु विदेश पलायन र छोरीहरु बिहे गरी सकेपछि उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे। भने, 'मलाई पाँचरसात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन। मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ। अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन। बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ। अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु।'

पहिले बाह्रै महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्री नै नहुने उनले बताए। कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको उनले बताए। उनका अनुसार अहिले मादलको मूल्यसमेत घटेको छ।  

'मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री गर्‍थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो। बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थेँ, कमाइ पनि राम्रो हुन्थ्यो। वर्षमा झण्डै पाँच लाख कमाइ गर्थेँ। मूल्य पनि राम्रै पथ्र्यो,' उनले भने, 'अहिले मादल किन्न बेला मौकामा एकरदुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु। पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें।'

दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए। गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउन्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ।  

'तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्,' उनले भने, 'कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ।'

निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो। उनको पनि अचेल मादल कमै बिक्री हुन्छ। वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए। पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको उनले सुनाए।

'वर्षौँ भइसक्यो, मादल निकै कम बिक्छन्। तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ। यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन। तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो। अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्,' नेपालीले भने, 'वर्षभरि मादल बनायो, बिक्री हुन्न। अब अरु नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन।'

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए। उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि संकटमा पर्न थालेको बताए। अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ।

'आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो। मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे। विद्युत्को पहुँच थिएन। माइक, स्पिकर र साउन्ड सिस्टम आएका थिएनन्,' उनले भने, 'अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो। अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे।'  

गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन्।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउन्ड सिस्टम र माइकको माग निकै बढेको बताए। पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउन्ड सिस्टम धेरै बिक्री हुने गरेको उनको भनाइ छ।  

'अहिले बजारमा साना–ठूला साउन्ड सिस्टमको माग निकै बढी रहेको छ। अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ। पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ,' उनले भने, 'अहिले त मेला महोत्सव जताततै साउन्ड सिस्टम घन्किन्छन्। मादल त बज्नै छोडे। केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो। अहिले त जताततै साउन्ड सिस्टममा गीत मात्रै सुनिन्छन्।' रासस

प्रकाशित: ३१ आश्विन २०७९ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App