२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा आइएमई लुटपाटमा स्थलगत जानकारी पाएको व्यक्तिको अगुवाई

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाट प्रकरण पछिको अनुसन्धानले डकैती,लुटपाट वा चोरीका अधिकाँस घटनामा स्थलगत जानकारी पाएको व्यक्तिको अगुवाई हुने देखाएको छ। 

प्रहरीले फुङलिङ नगरपालिका वडा नं २ घर भएका २९ वर्षीय राजन भन्ने राजयन्द्र पर्तेललाई यो घटनामा मुख्य योजनाकारको रुपमा औंल्याएको छ। प्रहरीका अनुसार राजन भनिने राजायन्द्र तिनै व्यक्ति हुन्,जसले फुङलिङ नगरपालिकाको वीरेन्द्रचाेक क्षेत्रमा सुनचाँदी पसल सञ्चालनको क्रममा अहिले लुटपाट गरेको कञ्चन मनि ट्रान्सफरसंग नियमित कारोवार गर्थे। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईका अनुसार कारोवार गर्दैदेखि उनले मनि ट्रान्सफरका सबै गतिविधि नियाल्न थालेका थिए। ‘कारोवारको क्रममा उसले मनि ट्रान्सफरका सञ्चालक र कर्मचारी प्रवेश गर्ने र बाहिरिने कक्षसहितको बस्तुस्थिति पत्ता पाइसकेको रहेछ’ राईले भने ‘लुटपाटको क्रममा समेत उसले त्यहिँ कक्ष र बस्तुस्थितिलाई प्रयोग गरेको देखिन्छ’। जाकट राखेको सुन उकास्ने बहाना बनाएर आइएमईका कर्मचारीलाई जबरजस्त कार्यालयमा बोलाउनुकोपछि घटनाको मुख्य योजनाकारले सुन र नगद सञ्चिती गर्ने स्थल समेतको बारेमा मेसो पाएको तथ्य प्रहरीले अनुसन्धानको क्रममा पत्ता पाएको छ। 

प्रहरीका अनुसार सुनचाँदी पसल सञ्चालनको क्रममा आइएमईसंग नियमित कारोवार गर्ने क्रममा उनीसंग आइएमईका कर्मचारीको फोन नम्बर पनि थियो। ‘जाकट राखेको सुन उकास्ने बहानामा पटक–पटक काल्पनिक नाम खडा गरेर आइएमईका कर्मचारीलाई फोन गर्ने र घटना भएको दिन समेत थप काल्पनिक नाम दिएर अल्मल्याई आफुले बनाइरहेको आकस्मिक योजनाबारे थाह नदिने सुत्र समेत लुटपाटमा संलग्नहरुले प्रयोग गरेका थिए’ अनुसन्धानको क्रममा पाएको जानकारी पछि प्रहरीले भनेको छ।  

डबल लुगा लगाएर बाहिरको फ्याक्ने  

घटनाको जानकारी पाए लगत्तै परिचालित भएको प्रहरी टोलीले लुटपाटका आरोपीहरुले भाग्ने क्रममा छाड्दै हिंडेको ज्याकेट,टिसर्ट र पाइन्ट फेला पार्‍यो। पहिलो दिन लुटपाटका मुख्य आरोपी राजयन्द्र फुङलिङस्थित निर्माणाधिन नयाँ बसपार्क छेउबाट पक्राउ परे। दोस्रो दिन चुनबहादुर झापाबाट र तेस्रोदिन मणिराज फुङलिङबाट पक्राउ परे। त्यसपछि सुरु भएको अनुसन्धानका क्रममा आरोपीहरुले मानिसहरुमा लुगाको पहिचान लुकाउन आफुहरुले डबल लुगा लगाएको स्वीकारेका छन्। ‘माथिबाट लगाएको लुगा फाल्ने र दोस्रो तहको लुगा मात्र प्रयोग गरेर सुरुमा आउँदा भन्दा बेगल पहिचानको पहिरन लगाएमा मानिसले आफुहरुलाई चिन्दैनन् भन्ने उनीहरुको योजना रहेछ’ डिएसपी राईले भने, त्यहिँ भएर पहिलो तहको लुगा फुकाएर फाल्दै भागेको देखिन्छ’। यस्तै राजयन्त्रले आफुलाइ स्थानीयले चिन्छन् भनेर आफ्ना साथीलाई अघि लगाउने र आफु भने हुलाक लाइनको बाटोबाट आइएमई लुटेपछि भाग्ने मार्ग औंल्याउन उद्यत रहेको प्रहरीले पत्ता लगाएको छ।  

नपड्किने बन्दुक डर देखाउनमा मात्र प्रयोग

प्रहरीले लुटपाटका आरोपीहरुबाट एकथान ‘नपड्किने बन्दुक’ फेला पारेको छ। प्रहरीका अनुसार यो बन्दुक पड्किने हालतमा छैन।‘काम नलाग्ने,म्यागजिन बिग्रेको र गोली नभएको अवस्थामा खिया लागेको पेस्तोल भेटिएको छ’ डिएसपी राईले भने ‘यो पेस्तोल बोक्नुको मुख्य उद्धेश्य आइएमईका कर्मचारीलाई डर र त्रास देखाएर नियन्त्रणमा लिन सहज होस् भन्ने लुटपाट टोलीको योजना पाइयो’। तत्काल काम नलाग्ने र नपड्किने प्रकृतिको यो पेस्तोल को र कुन ठाउँबाट यो टोलीको हातमा पर्‍यो भन्ने बिषयमा चाँहि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।  

छिटो र सहि सूचनाले आरोपित तत्कालै पक्राउ  

प्रहरीलाई बर्दी सहितको नागरिक र नागरिकलाई बिना बर्दीको प्रहरी पनि भन्ने गरिन्छ। अपराधिक घटनाका बारेमा सहि र छिटो सूचना प्राप्त हुन प्रहरीले नागरिकको सहयोग खोज्छ। प्रहरीको बुझाईमा सहि र छिटो सूचनाले कित अपराध हुन नदिन भूमिका खेल्छ, कित अपराधिक घटनामा संलग्नहरुलाई कानुनी दाहेरामा ल्याउन सहयोग गर्छ। नागरिकको सहि सूचना र प्रहरीको तत्कालको एक्सनको यहिँ फ्युजनबाट आइएमई लुटपाट प्रकरणमा आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छ। डिएसपी राईले छिटो र सहि सूचना दिएर प्रहरीलाई यो घटनामा संलग्नहरु नियन्त्रणमा लिने आधार प्राप्त भएको भन्दै स्थानीय,आईएमई सञ्चालक परिवार र जनप्रतिनिधि समेतप्रति आभार प्रकट गरेका छन्।  

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैको एकसाथ एक्सन

आईएमई सञ्चालकको जाहेरी अनुसार नगद र गरगहना समेत गरी साढे ३ करोड बढीको यो लुटपाट प्रकरणमा आरोपित पहिचान गरी पक्राउ गर्नु चुनौतिपूर्ण नै थियो। समयमै सूचना पाएकोले दशैं अवधिमा प्रहरी कार्यालय र गुल्म परिसरमा गरिने बैदिकबिधि समेत स्थगन गरेर प्रहरी टोली परिचालन भयो। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी राई र सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरबाट सशस्त्र प्रहरीका डिएसपी बिनोद थापा आफैं परिचालित भए। ‘दुबै डिएसपी सावहरुको नेतृत्वमा रहेको सुरक्षाकर्मीको टोलीको कुशल कार्य सम्पादनले आरोपितलाई पक्राउ गर्न सकिएको छ’ प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने। 

प्रहरीले पक्राउ परेका तीनजनाको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरेको छ। घटनामा आरोपीमध्ये थप एकजनालाई पक्राउ गरी ताप्लेजुङतर्फ ल्याईदैं गरेकोले उनीसंगको प्रारम्भिक बयान नै बाँकी रहेको छ। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको बिबरण उल्लेख गरी जाहेरी दिएका छन्। हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।  

काठमाडौंमा बनेको थियो लुुटपाटको योजना  

आइएमई लुटपाटका सबै आरोपी कामको शिलसिलामा काठमाडौमा भेट भएका थिए। उनीहरुका बिच भइरहने बहस कमाई केन्द्रित हुन्थ्यो। प्रहरीका अनुसार राजयन्द्रले सुरुमा लुटपाटका आफ्ना तीन सहयात्रीलाई जाकट राखेको आफ्नो सुन एउटाले दिदैं नदिएको भन्दै जसरी पनि माग्न सहयोग गर्नुपर्ने बताएको थियो। एकदुईदिन पछि यो शीर्षक समाप्त भएर आइएमई लुट्ने योजना बन्यो।

योजना ग्राण्डी अस्पतालको अगाडिको खाली जग्गाको बसाईका क्रममा बनेको आरोपितले प्रहरी समक्ष बयान दिएका छन्। उनीहरु झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाए। गाडी चढेर आए। सदरमुकामस्थित एक होटलमा बास बसे। उनीहरुमध्ये एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर जाकेट राखेको सुन उकास्न आउने सूचना दिए। 

उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकट रेकर्डमा नभएको जवाफ कर्मचारीले दिईन्। उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुन जाकेट राखेको नाम दिए। कर्मचारीले अर्को दिन आउन आग्रह गरे। असोज १७ गते बिहान बजार केही सुनसान थियो। पर्तेलसहित ४ जना आइएमई आउनुअघि योजना बनाए। उनले हुलाक टोलबाट आउँदा आफूलाई चिन्ने भएकाले अर्कै बाटो आए। सुरुमा २ जना कार्यालयको पछाडिको ढोकाबाट प्रवेश गरे। जाकट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न थाले। लगत्तै बाँकी २ जनाले कर्मचारीलाई नियन्त्रणमा लिए। 

एक जनाले सिसी क्यामेराको तार चुडाउन टेबलमाथि चढे। र क्यामराको तार चुडाए। मुखमा मास्क लगाएकाले क्यामेरामा कैद भएका व्यक्तिलाई सजिलोगरी चिन्न कठिन बन्यो। उनीहरु सबै जना अग्रिम योजना अनुसार निर्माणाधिन बसपार्कमा भेला भए। तीमध्ये पर्तेलले सबै सामान बोक्ने र काठमाडौमा पुगेर बाँडफाँड गर्ने योजना अनुसार छुट्टिएका थिए।

प्रकाशित: २५ आश्विन २०७९ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App