१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा बाढी–पहिरो: १६ जनाको मृत्यु,१९ बेपत्ता

पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा परेर १९ जना बेपत्ता छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कालिकोटमा बाढीपहिरोमा परी चारजनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता छन्। आइतबार आफन्तको मलामी आएका १३ जनासहित कालिकोटको तिलागुफा नगरपालिकाका १९ जना बेपत्ता भएका हुन्।  

तिलागुफा नगरपालिका–७ बालीगाउँमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्। प्रहरीका अनुसार स्थानीय ध्रुवराज विष्टको घर पहिरोले पुर्दा उनीसहित ३५ वर्षीया उनकी पत्नी ममता र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता छन्।  

सोही पहिरोमा पुरिएर १५ वर्षका छोरा भरत र १३ वर्षका छोरा कृपेश विष्टको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालका अनुसार आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पहिरोमा पुरिएका थिए। ‘पहिरोमा पुरिएर मृत्यु भएकामध्ये दुईजनाको शव निकाल्न सकेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रिमालले भने, ‘बाँकीको खोजी भइरहेको छ, वर्षाका कारण खोजी कार्यमा समस्या भइरहेको छ।’

तिलागुफा नगरपालिका–६ भैंसेगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुर्दा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता छिन्।  

स्थानीय र प्रहरीले पहिरो पन्छाउने प्रयास गरिरहेको भए पनि अधिक वर्षा भइरहेकाले समस्या भइरहेको छ। तिलागुफाकै पल्लोबालीमा घर भत्किँदा एकजना भारतीय नागरिक पनि बेपत्ता छन्। स्थानीयको घरमा काम गर्दै आएका भारतीय नागरिक अब्दुल बटुला बेपत्ता भएको प्रहरीले जनाएको छ।  

कालिकोटकै खाँडाचक्र नगरपालिका–८ को सेराबाडा खोलामा आएको बाढीले बगाउँदा एकजना प्रहरी जवान बेपत्ता छन्। सुर्खेत गणमा कार्यरत प्रहरी जवान पदम रावतलाई जुम्ला घरबाट दसैं मनाएर कार्यक्षेत्र फर्किने क्रममा खोलाले बगाएको हो। उनीसँगै आएका दुईजना प्रहरी भने सकुशल छन्। सानीत्रिवेणी गाउँपालिका–८ मा पहिरोमा परी १४ वर्षीया केबुल केसीको मुत्यु भएको छ। पचालझरना गाउँपालिका–७ का ४७ वर्षीय परिलाल बोहोराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ।  

मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन्। आइतबार दिउँसो २ बजेतिर तिला र कुकुर खोला संगमस्थल भाडी घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा खोलामा आएको बाढी र पहिरोले बगाउँदा मलामी गएका एकै गाउँका १३ जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

प्रहरीका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधनप्रसाद श्रेष्ठका अनुसार घटना आइतबार दिउँसोको भए पनि प्रहरीलाई सोमबार बिहान ७ बजेतिर मात्रै खबर भएको थियो। ‘शव जलाउने बेलामा तिला नदीमा आएको बाढी र पहिरोमा परेर १३ जना बेपत्ता भएका हुन्,’ उनले भने, ‘हराएकाहरूको खोजी भइरहेको छ।’ बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नम्बर–४ राँचुलीका वडाध्यक्ष परबहादुर शाही पनि छन्। स्थानीय हेमराज शाहीको शनिबार मृत्यु भएपछि आइतबार करिब ७० जना मलामी आएका थिए।  

हुम्लामा चारको मृत्यु, पाँच घाइते

हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एउटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परेका पाँच जनाको जिवितै उद्धार गरिएको छ। चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार आइतबार बेलुकी ७ बजेतिर आएको पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्धार गरिएको छ।

उपाध्यक्ष शाहीका अनुसार पहिरोमा परेर ५७ वर्षीया तुलसा कामी, उनकी ९ वर्षकी नातिनी सुस्मिता कामी, ७ वर्षकी नातिनी होइजाली कामी र ५ वर्षको नाति बसन्त कामीको मृत्यु भएको हो। उद्धार गरिएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

आठको मृत्यु, पाँच घाइते

मुथगुको छाँयानाथ रारा नगरपालिका–११ सालिम बस्तीमा पहिरोले तीनवटा घर पुर्दा आठ जनाको मृत्यु भएको छ। पाँच जनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोमा परेर छायानाथ रारा नगरपालिका–११ की ३० वर्षीया होजाली भग्री, ६० वर्षीया हाविरा भग्री, २० वर्षका कृष्ण साउद, ५४ वर्षका वीरबहादुर भग्री, १९ वर्षीया सुस्मिता भग्री, ८२ वर्षीया गौरीकला बोहोरा, १५ वर्षीय चक्रवीर बोहोरा र २० वर्षका सक्कबहादुर साउदको मृत्यु भएको हो। पहिरोमा परेर दुधकला भग्री, बालिकन्या भग्री, मनपुरा भग्री, संगीता साउद र उमामती साउद घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हेर्दाहेर्दै तिलाले १३ जना लग्यो: कमलबहादुर शाही

शनिबार दिउँसो साढे २ बजेतिर राँचुलीका हेमराज शाहीको मृत्यु भयो। आफन्त पनि भएकाले हामी सबै जम्मा भयौं। पानी परिरहेकाले शव भोलिपल्ट मात्र घाट लैजाने कुरा भयो। भोलिपल्ट सबै प्रक्रिया पूरा गरेर घाट पुग्याौं। हामी डेढ बजेतिर घाट (कुकुर खोला र तिला नदी दोभान) पुगिसकेका थियौं। घाट पुग्दासम्म सिमसिम पानी परिरहेको थियो। शव जलाउने बेला ठूलो पानी पर्न थाल्यो। गाउँभरिबाट हामी ७० जना जति मलामी थियौं। पानी ठूलो परेपछि धेरैजसो मलामी घाटबाट सडकतर्फ लाग्नुभयो।  

म पनि माथितिर आउँदै थिएँ। एक्कासि खोला बौलाएर आयो। दौडँदा म पनि घाइते भएछु। राति १२ बजे मात्रै मेरो होस आयो। छोराको लास जलाउँदै गरेका मृतकका बुवा कालिबहादुर शाहीसहित १३ जनालाई तिलाको भेलले बगाएछ। एउटै टोलमा नौसहित १३ जना बेपत्ता हुँदा सिंगो राँचुली गाउँ अहिले शोकमा छ। आफ्नो काजकिरिया गर्ला भनेको छोराको शव जलाउन गएका बुवालाई पनि तिलाले लग्यो।

पाँच दिनदेखिको अविरल वर्षाले २०४ घर–परिवारलाई विस्थापित गराएकाले स्थानीय स्कुलमा बसेका छौं। एकातिर गाउँकै १३ जना बेपत्ता हुनु, अर्कोतिर सिंगो गाउँ पहिरोको जोखिममा परेर विस्थापित हुँदा हामी अहिले संकटमा छौं। हामीले वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पनि गुमायौं।

प्रकाशित: २५ आश्विन २०७९ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App