१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कालिकोटका विभिन्न ठाउँमा पहिरो, २२ जना बेपत्ता

कालिकोटमा २२ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका,सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाको पहिरोमा परेर २२ जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार तिलागुफा  नगरपालिका–७ बालीगाउँमा पहिरो जाँदा स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारनै बेपत्ता भएको छ। आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता,१५ वर्षीय छोरा भरत,१३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता भएको प्रहरी जनाएको छ।  

प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ। ६ दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खोजी गर्न सकेको छैन्।

यसैबीच तिलागुफा नगरपालिका –६ भैसैगोडा स्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानियका अनुसार उनिहरु घर भित्रै रहेको बताईएको छ।  

यस्तै तिलागुफा नगरपालिका– ४ राँचुलीमा पहिरो जाँदा १३ जना बेपत्ता भएका छन्। मलामि गएका १३ जनानै  सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरु कोको थिए भन्ने खुलेको छैन।

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले बगाउँदा एक जना प्रहरी जवा वेपत्ता भएका छन्। सुर्खेत गणमा कार्यारत प्रहरी जवान पदम रावत जुम्ला घरबाट दसैं मनाएर फर्किँदै गर्दा टाकुला खोलाले बगाएको हो। उनीसँगै आएका दुई जना भने सकुशल छन्।  

यस्तै जिल्लाको सानी त्रिवणी गाउँपालिका —८ मा पहिरो जाँदा १४ वर्षीया केबुल केसीको मुत्यु भएको छ। भने दुई जना घाईते भएका छन्। अन्य धेरैको घरमा धनजनको क्षति भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले जानकारि दिए। पचालझरना गाउँपालिका–७ का ४७ वर्षीया परिलाल बोहोर गरि २२ जना बेपत्ता भएका हुन्।उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ।  

प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने जानाएको छ। कर्णाली राजमार्गको ५० भन्दा धेरै ठाउँमा पहिरो गएकाले  उद्धारमा पनि समस्या भएको प्रहरीको भनाई छ।  जितेगडाको पुल कर्णाली नदिले बगाएको छ। बाढिले सीमा नाघेपछि पुल पनि बगाएको हो।

प्रकाशित: २४ आश्विन २०७९ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App