१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षाले यस वर्षको दशैं खल्लो

फाइल तस्बिर।

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले नेपालीहरूको महान् पर्व बडादशैंको रौनक बढ्न सकेन। चाडपर्वको समयमा आफन्त,इष्टमित्र र मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन वर्षाका कारण कठिनाइ भएको व्यास-१० निवासी तुलबहादुर सुनारले  बताए।

अविरल वर्षाकै कारण ससुराली घर चितवन जान समेत रोकिनुपरेको उनको दुखेसो छ। जाउँजाउँ त लागेको छ तर लामो दूरीको सडक र ठाउँठाउँमा पहिरो खस्ने चिन्ताले जान नसकिएको सुनारले बताए।

कोरोनाका कारण तीन वर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरूले यस वर्ष दशैं हर्षोल्लास र उमंगका साथ मनाउने सपना देखे पनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिंदा पिङ खेल्न, रमाइला ठाउँहुँदि घुम्न नपाइएको व्यास–२ निवासी एवं सञ्चारकर्मी विकास खनालले बताए।

दशैंको दिन टीका र जमराका साथै नयाँनयाँ कपडा लगाएर मान्यजनको हातबाट टीका थाप्न जान वर्षाका कारण समस्या भएको उनको भनाइ छ।

अविरल वर्षाले दशैंमा पिङ खेलेर रमाइलो गर्ने र साथीसँग भेटघाट गरी कुराकानी गर्ने अवसरबाट वञ्चित हुनुपरेको व्यास नगरपालिका-१ निवासी जानुका नेपालीको पनि गुनासो छ।

उनी भन्छिन्, ‘अघिल्ला वर्षको चाडपर्व कोरोना संक्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यस वर्ष पनि मौसमले साथ नदिंदा खल्लो भएको छ।’ रासस

प्रकाशित: २१ आश्विन २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App