२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

फाइल तस्बिर।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ। ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै संकटमा परेको हो।

कावासोती नगरपालिका ७ र ८ वडामा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ। हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा  खानेपानी उपलब्ध नहुँदा टरुवा तालको  पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्दथे। सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर बनाउन समेत प्रयोग गर्ने गर्दथे। टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ। यसकारण पनि ताललाई ऐतिहासिक तालको संज्ञा दिने गरिएको हो।

पछिल्लो समय ताललाई कावासोती तालका रूपमा समेत चिन्ने गरिन्छ। झन्डै तीन दशमलव ५२ हेक्टर जमिनमा फैलिएको तालको सरसफाइ नहुँदा झारले पुरिएको छ। टरुवा ताल झट्ट हेर्दा घाँसे मैदानजस्तै देखिने भएको छ। नियमित सरसफाइका कुनै कार्यक्रम नहुँदा तालको अस्तित्व संकटमा परेको स्थानीय धनबहादुर महतोले गुनासो गरे। केही वर्ष अघिसम्म तालको संरचना राम्रै रहेको भए पनि अहिले झारले ढाकेर तालै सुक्ने खतरा उत्पन्न भएको उनले बताए। ‘पहिले राम्रो थियो, बिस्तारै झारले ढाक्दै गयो। अहिले चौरजस्तो देखिन थालेको छ’, महतोले भने, ‘पहिले सबैलाई पानी खुवाएको ताल अहिले आफैं संकटमा छ।’

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको र राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्णस्थलका रूपमा परिचित हुने नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानामगरले बताए। ताल क्षेत्रकै स्थानीयवासी समेत रहेका उनले  यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उनको भनाइ थियो। यति सुन्दर ताल छ। यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरे ताल अवलोकनका लागि दैनिक सयौं मान्छे आउने छन्’, अध्यक्ष रानामगरले भने,‘वरपर आर्थिक गतिविधि बढ्नेछ, स्थानीयवासीको आम्दानीको स्रोत बढ्छ, नगरलाई पनि आम्दानी हुन्छ।’

टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव  मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन्। यसलाई जोडेर एकीकृत रूपमा विकास गर्नसके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने उनले बताए। प्राकृतिक रूपमा प्राप्त जिल्लाकै सुन्दर उपहार भए पनि यसलाई चिन्न सकिएको छैन। ‘यो साँच्चै प्रकृतिले दिएको सुन्दर उपहार हो। हामीले यसलाई चिन्न सकेनौं। विकासको नाममा विनाशमा लाग्यौं’, अध्यक्ष राना मगरले भने, ‘ताललाई पुरानो अवस्थामा फर्काउन आवश्यकछ।’

उक्त ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, यस क्षेत्रमा पार्क निर्माण गर्ने योजनासहित कावासोती नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ। सोही अनुसार झन्डै दुई वर्षअघि संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको विकासका लागि नगरपालिकासँगको साझेदारीमा सात करोड रुपैयाँको काम सुरु गरिएको थियो।

क्रमागत योजनाका रूपमा  तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो तर पहिलो चरणमा तालको उत्तरतर्फ केही ग्याबिन बाँध्ने र बाटो बनाउने काम भए पनि अन्य काम भने अघि बढ्न सकेन। कोभिडको असरसँगै सो समयको कामसमेत अधुरै रहेको छ।

त्यसयता ताल संरक्षण र यसको विकासमा कुनै पनि काम अघि बढ्न सकेको छैन। ताललाई झारले ढाक्दा समेत सरसफाइमा समेत कसैको नजर पर्न सकेको छैन। टरुवा ताल कावासोती  वडा ७ सहित तल्लो भेगका जनताका लागि जलस्रोतका रूपमा  रहेको छ। सो क्षेत्रमा निस्किएको मुहानबाट ताल हुँदै तल्लो क्षेत्रमा सिँचाईका लागि समेत पानीको प्रयोग हुँदै आएको छ तर पनि न त मुहानको न त तालको संरक्षणमा कसैले पनि चासो देखाएका छन्। रासस

प्रकाशित: २० आश्विन २०७९ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App