६ वैशाख २०८१ बिहीबार
समाज

राप्तीको बाढी खतराको चिन्हभन्दा माथी, नदीको सतह ६.६२ मिटर पुग्यो

अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेको छ। कुसुम स्थित बाढी मापन केन्द्रमा बुधबार बेलुका ७ बजेको रेकर्ड अनुसार राप्ती नदीको सतह ६.६२ मिटर पुगेको छ। जबकी पानीको सतह ५.४० मिटर पुगेपछि डुबान हुने खतरा हुन्छ।

आज बेलुका साढे ५ बजेको रेकर्ड अनुसार पानीको सतह ६.३० मिटर कायम रहेको थियोे। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताए। 'बेलुका ७ बजेको रेकर्ड अनुसार पानीको सतह ६.६२ मिटर रहेको छ, अझै पनि पानी परिरहेको हुँदा बढ्ने सम्भावना छ,' उनले नागरिकसँग भने।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। त्यसपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सर्तक गराइन्छ। बाढी खतराको चिन्ह भन्दा माथी पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अलर्ट गराइएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए। राप्तीमा बाढी बढेपछि दिउँसो देखि खतरा स्वरुप साइरन बजाइएको छ। कुसुम स्थित बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले राप्तीमा बाढी निरन्तर बढिरहेको बताए। 'राप्तीमा बाढी निरन्तर बढिरहेको छ,' उनले भने।

कुसुमबाट करिब ४/५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ। जिल्ला प्रशासन कार्यालय बाँकेले पनि राप्तीको तल्लो तटिय क्षेत्र र डुबान भइरहने होचो भुभागमा बस्ने सर्वसाधारणले सर्तकता अपाउन सर्वसाधारणलाई आग्रह गरेको छ।  

भारतले अन्तराष्ट्रिय कानुन विपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने बित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन। बाढीका कारण हजारौं बिघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ।

प्रकाशित: १९ आश्विन २०७९ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App