टोलीले वीर अस्पतालनजिकै महाबौद्धमा रहेका आयुष फर्मा, सन्तोष फर्मा, सत्यम फर्मा र आरफ फर्माबाट विभिन्न ब्रान्डका हजारौं थान नियन्त्रित लागूऔषध बरामद गरेको हो । नियमअनुसार औषधि व्यवसायीले उपचार क्रममा चाहिने ती औषधि चिकित्सकको प्रेस्किप्सनका आधारमा मात्र बिक्री गर्न पाउँछन् र बिक्री गरेका औषधिको सम्पूर्ण विवरण राख्नुपर्ने हुन्छ ।
ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार निरीक्षण क्रममा चारवटै पसलले कानुन उल्लंघन गर्दै जथाभावी रुपमा नियन्त्रित औषधि बिक्री गर्ने गरेको पाइएको छ । 'नियन्त्रित औषधि सबै जफत गरेर अनुसन्धान अगाडि बढाइएको छ,' उनले भने, 'औषधिको गलत प्रयोग भए नभएको विषयमा समेत छानबिन हुँदैछ ।' उनले नियन्त्रित लागूऔषध बिक्री गरेको सूचनाका आधारमा ब्युरोले विभागको सहयोगमा विभिन्न औषधि पसलमा छापा मारेको बताए ।
निरीक्षण क्रममा आयुष फर्माबाट मोर्फिम सल्फेट १ सय ५२ बोतल, पेथिडाइन ९१, फेन्टान्ली सिट्रेट ५० भायल, क्लोनाजेपाम १६ सय ३९ ट्याब्लेट, अल्प्राजोलाम ३ सय २ ट्याब्लेट, डाइजेपाम १९ सय ८४ ट्याब्लेट, कोडिन फोस्फेट १ सय २३ ट्याब्लेट, जोल्पिडेम ९० ट्याब्लेट लगायत ६ हजार अन्य नियन्त्रित औषधि जफत गरिएको छ ।
सन्तोष फर्माबाट पनि डाइजेपाम, लोराजेपाम, कोडिन, क्लोनाजेपाम, अल्प्राजोलाम लगायत ६५ सयभन्दा बढी झोल तथा ट्याब्लेट, सत्यम फर्माबाट पनि कोडो ट्याब २ सय ६ थान र आरफ फर्माबाट पनि तिनै नामका करिब ५ हजार थान औषधि नियन्त्रणमा लिइएको छ ।
डिआइजी चन्दका अनुसार ती औषधि पसलका सञ्चालकलाई पनि नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नियन्त्रणमा लिइएका सञ्चालकलाई कागजपत्र लिएर छाडिएको चन्दले बताए । 'नियन्त्रित लागूऔषधको कुनै लगत नराखी बिक्री गरेको र त्यस्ता लागूऔषध डाक्टरको स्वीकृतिमा मात्र बिक्री गर्न पाइने भए पनि व्यवसायीले अवैध रुपमा बिक्री गर्ने गरेको भेटिएको छ,' उनले भने, 'यसरी बिक्री भएका औषधि लागू पदार्थ सेवन गर्नेहरुले पनि खरिद गरिरहेका हुन सक्छन् ।'
औषधि ऐनअनुसार व्यवसायीले त्यस्ता औषधि बिक्री गर्दा चिकित्सकको सिफारिस, बिरामीको रोग र कसले कसलाई कुन प्रयोजनका लागि बेचिएको भन्ने रेकर्डसमेत अनिवार्य रुपमा राख्नुपर्छ । विभागले त्यस्ता औषधि बेच्ने÷नबेच्ने दुवैको प्रमाणपत्रमा छाप लगाउने काम गर्दछ । बेच्नेलाई बेच्ने र नबेच्नेलाई नबेच्ने भन्ने छाप लगाउने गर्दछ ।
विभागबाट औषधि बेच्ने अनुमति लिने व्यवसायीले बेचेको रेकर्ड राख्नुपर्ने र बेच्दिनँ भन्ने व्यवसायीले बेचेको पाइए कानुनअनुसार कारबाही हुनेछ । यसका साथै बेच्ने अनुमति लिएकाले पनि नियमअनुसार रेकर्ड नराखे कारबाही हुनेछ । ऐनअनुसार त्यस्ता औषधिको रेकर्ड नराख्ने व्यवसायी तथा पसलको दर्ता खारेजसम्मको कारबाही हुनेछ । औषधि बिक्रीको अवस्था र व्यापारीले गरेको कसुरका आधारमा पसल बन्द गर्ने, निलम्बन गर्ने, नसिहत दिने वा व्यवसायी कार्ड नै रद्द गर्ने भन्ने सजाय हुने ऐनमा उल्लेख छ ।
प्रकाशित: २९ वैशाख २०७३ २१:४० बुधबार