१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरिदै गाउँ, रित्तिंदै सहर

दसैंमा गाउँ फकिनेको भीड

गाँउ फकिदै कलापाहाड गएका युवाहरू। तस्बिरः ललित विष्ट

गाउँमा दसैंको चहलपहल सुरु भएको छ। जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर रोजगारी, व्यपार व्यवसाय तथा अन्य कामगर्दै आएका अधिकांश मानिस गाउँ फर्किन थालेका छन्। दैनिकजसो गाउँतिर जाने सवारी साधनमा यात्रुहरूको खचाखच भीड लाग्ने गरेको छ भने सहरतिर जाने गाडीहरू दिन प्रतिदिन खाली गुड्न थालेका छन्।

नेपालीहरूको महान चाडका रूपमा मानिंदै आएको विजया दशमीमा आफ्ना अभिभावको हातको टीका थाप्न र आशीर्वाद लिन विभिन्न काम र अध्ययनको लागि सहरमा बस्ने मानिस गाउँ फर्किएका हुन्।          

कालिकोट जिल्लामा करिब ३८ वटा सरकारी कार्यालय रहेका छन्। जिल्लामा क्रियाशील करिब एक दर्जन गैरसरकारी निकाय सक्रिय छन्। हाल सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् भने गैरसरकारी निकायमा समेत कर्मचारी दसैं बिदामा घरतिर लाग्न थालेका छन्।

कालिकोट जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू बाहेक सबै सरकारी निकायहरू पनि शुनशान छन्। जिल्लाका सुरक्षा निकायका प्रमुखहरू जिल्लाको शान्ति सुरक्षाका लागि बिदा नमिल्ने भएकाले जिल्ला कुरिरहेका छन्।

मान्म बजारका व्यपारी पनि दसैंकै लागि गाउँ जाने तयारीमा लागेका छन्। दसैं तिहारको लागि सामान लिन आउने ग्राहकहरू पनि कम हुँदै गएकाले आफूहरू गाँउ जाने तयारीमा रहेको मान्म बजारका व्यपारी बलप्रसाद संज्यालले बताए। ‘सदरमुकाममा ग्राहकहरुको चहलपहल घट्दै गएको छ। अधिकांश मानिसहरु गाँउ केन्द्रित भएका छन्। अब आफूहरु पनि पसल बन्द गरेर दसैं मान्नका लागि गाँउ जाने तयारीमा छौँ’ उनले भने।

कर्णाली करिडोरमा जीप चलाइरहेका जीप चालक महेश न्यौपानेले जिते बजारबाट गाँउतिर जाने यात्रुहरूको भीड हुन थालेको बताए। उनले भने, ’गाँउबाट फर्किंदा दस जनाको सिट भएको जीपमा एक दुई जना लिएर फर्किन्छौं। तर गाँउतिर जाँदा यात्रुहरूको खचाखच भीड भएकाले यात्रुहरूलाई पालै पालो टिकट काटेर सबै जीपहरू भरिभराउ भएर जान्छन्।’

नेपाली सेनाद्वारा ट्रयाक खोलिएको निर्माणाधीन कर्णाली करिडोरमा हाल १८ वटा रारा कर्णालीका जीप, ४ वटा बुलबुले यातायात समितिका जीपहरूका साथै अन्य केही निजी जिपहरू सञ्चालनमा छन्। जिल्लाबाट रोजगारीका लागि धेरैजसो युवाहरू कलापाहाड (भारत) तिर जाने गरेका छन्। उनीहरू पनि गाउँ फर्किन थालेका छन्।

प्रकाशित: १६ आश्विन २०७९ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App