२४ मंसिर २०७९ शनिबार
समाज

इलाममा पुरातात्विक महत्वको तोप पुन: स्थापना गरिँदै

इलाम बजार।

इलाम सदरमुकामस्थित माइस्थान मन्दिर परिसरमा पुरातात्विक महत्वको तोप पुन: स्थापित गरिने भएको छ। फूलपातीको अवसर पारेर आइतबार इलाम बजारको माइस्थानमा तोप राखिने भएको हो।यहाँ राखिएको तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो। यहाँबाट २०५९ सालमा लगिएको तोप २० वर्षपछि पुन: स्थापित  गर्न लागिएको हो।    

तोप राख्न लागिएको माइस्थानलाई सिंगारपटार गरिएको छ। तोप राख्ने ठाउँ तयार गरिएको छ  भने माइस्थान क्षेत्रको मर्मत र थप संरक्षण गरिएको गढीथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणका गणपति सुनील सुवेदीले जानकारी दिए। उनका अनुसार एक महिनाअघि श्रीनाथ पल्टनबाट रणशार्दूल गणमा ल्याइएको तोप फूलपातीको अवसरमा पहिलेकै अवस्थामा पुन: स्थापित  गरिने छ। ‘तोपलाई पनि विभिन्न हिसाबले सरसफाइ र सामान्य मर्मत गरिएको छ,’ उनले भने, ‘फूलपातीको अवसर पारेर माइस्थानमा राखिने छ।’

त्यहाँ राख्नुअघि विभिन्न जातजातिका झाँकीसहित यो तोपलाई ट्रकमा राखेर इलाम बजार परिक्रममा गराउने तयारी छ। इलाम नगरपालिकाका मेयर केदार थापाले नेपालकै इतिहाससँग जोडिएको गौरवशाली तोप इलामको पुरातात्विक सम्पदा भएकाले नगरले पनि यसमा चासो राखेको बताए। ‘यो पुरातात्विक सम्पदा देशकै र इलामको पनि इतिहास हो,’ उनले भने, ‘अहिलेको नेपाल कसरी यो अवस्थासम्म आयो भन्नेबारे अध्ययन गर्न पनि युद्धकालका सामग्री निकै महत्वपूर्ण हुन्छन्।’  

इतिहासकार युद्धप्रसाद वैद्यले इलाममा कहिलेदेखि तोप राखिएको थियो भन्ने यकिन नभएपनि यहाँ निसान स्थापना गरिनुअघि र पछि पनि माइस्थानमा ८ तोप राखिएको बताए। माइस्थानमा मात्र होइन, त्यतिबेला इलाम दरबार (पुरानो सिडिओ कार्यालय)को आँगनमा पनि तोप राखिएको थियो। नेपाल भू–भागको ऐतिहासिक लडाइँ र विजयसँग जोडिएको तोपले पुरातात्विक महत्व राख्ने भएकाले यो अमूल्य धरोहर भएको वैद्यले जनाए। ‘सशस्त्र द्वन्द्वका बेला यहाँबाट तोप लगिएपछि इलामबासी निकै चिन्तित थिए,’ वैद्यले भने, ‘तर, इलामबासीले पटक–पटक अनुरोध गरेपछि तोप पुनः ल्याइएको छ।’ उनले १८९३ सालतिरको तोप पुनः यहाँ ल्याइएको बताइएपनि कुन चाहिँ ल्याइएको हो भन्नेबारे अवलोकन गर्न बाँकी रहेको जनाए।  

वैद्यले तोप पुनस्र्थापित हुनु इलामको पर्यटनका लागि पनि विशेष महत्वको विषय भएको बताए। ‘अब इलाममा पुरातात्विक महत्वको पर्यटकीयस्थल थपिने भएको छ,’ उनले भने, ‘अब माइस्थानलाई देशकै एक महत्वपूर्ण पुरातात्विकस्थल भन्न सकिन्छ।’ माइस्थानमा रहेको नेपाली सेनाको गढी २०२७÷२८ सालतिर अहिलेको गढीथुम्कामा सारिएको थियो।  

माइस्थानको ऐतिहासिक निसानसमेत २ सय वर्षपछि फर्काइएको छ। सुगौलीको सन्धिपछि इलाम ल्याइएको श्रीनाथ पल्टनको निसान सशस्त्र द्वन्द्वकै क्रममा काठमाडौं लगिएको थियो। यो निसान २०७४ असार २३ मा यहाँ पुनस्र्थापित गरिएको थियो। यो निसानलाई नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला नेपाली सेनाको वीरताको प्रतीकका रूपमा लिइन्छ।

नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपादेवी’ र ‘निसान भगवती’का रूपमा पूजा गर्नेगरेको छ। निसान नेपाली सेनाको गणको प्रतीक हो। यो विशेष किसिमको झन्डाको रूप हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरणताका गठन गरेको श्रीनाथ पल्टन नेपालमा पहिलोपटक पत्थरकला (बन्दुक) चलाउने पल्टन मानिएको र त्यही पल्टनको प्रतीक भएकाले निसानलाई अमूल्य सम्पत्तिका रूपमा मानिन्छ। इतिहासकार वैद्य इलामका लागि निसान अर्काे गौरव भएको बताउँछन्।

सिक्किमले कब्जा गरेको इलामको टिस्टासम्मको भाग फिर्ता गराउन पृथ्वीनारायण शाहले तत्कालीन सेनाप्रमुख अभिमानसिंह बस्नेत र पारथ भण्डारीलाई निर्देशन दिएका थिए।  त्यसैअनुरूप, गंगानन्द आचार्य र विश्वामित्र उपाध्यायलाई सिक्किमे राजाकहाँ दूत पठाउँदा र १८३१ साल असोज १ मा सिक्किमे राजाले इलामको भूमि फिर्ता गर्ने सन्धिपत्रमा हस्ताक्षर गरेको इतिहास छ।

त्यही हस्ताक्षरपछि नेपालको पूर्वी सीमा टिस्टा कायम भएपछि  टिस्टाको नागरी (हाल दार्जिलिङको नागरी कमान) मा सेनाले निसान राखेको वैद्यद्वारा लिखित पुस्तकमा उल्लेख छ। ‘१८४४ सालमा नेपाल–सिक्किम युद्ध हुँदा सिक्किमको पहाड–र मधेस (महानदीसम्म नेपालको सीमा पुगेको थियो,’ पुस्तकमा उल्लेख छ, ‘यो विजयमा श्रीनाथ पल्टनको बहादुरीको भूमिका थियो।’  

१८७० देखि १८७२ सम्म चलेको नेपाल–अंग्रेज युद्ध १८७२ फागुन १० मा सुगौलीको सन्धिसँगै समाप्त भएपछि अहिलेको पूर्वी सीमा सिंहलीला पर्वतको पानीढलो र मेची नदी कायम भएको हो। सन्धिपछि नेपाली सेना फर्केर इलामको पूर्वी करफोक आउँदा निसान करफोकमै थियो। तर, भारतीय सीमाको नजिक पर्ने भएकाले त्यहाँबाट अझ पश्चिम साविक नामसालिङ गाविस ल्याएर राखियो। त्यसको केही समयपछि अहिलेको इलाम सदरमुकाममा निसान ल्याएर राखेको इतिहास छ। हरेक दसैंको फूलपातीमा सेना र सर्वसाधारणले निसान पूजा गर्ने र फूलपाती भित्र्याउने चलन थियो। चैते दसैं र अन्य दर्जनौं अवसरमा ठूलो समूहले निसानको सामूहिक पूजा गर्ने चलन थियो।

प्रकाशित: १५ आश्विन २०७९ १८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App