जुम्लाकी अजकला रोकाय छोराछोरीको पढाईका लागि वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बस्छिन्। दशैंमा घर जानका लागि अजकला तीन दिनदेखि प्रयासरत छिन्। शुक्रबारका लागि उनले बसको टिकट काटेकी पनि थिइन्। घर जानका लागि छोराछोरीसँगै विहानै बसपार्क पुगेकी उनी बस नचढेर ढोकाबाटै फर्किइन्। ‘काउन्टरबाट एउटै सिट नम्वर राखेर चार–पाँच जनालाई टिकट दिएको रहेछ,’ अजकलाले भनिन्, ‘छोराछोरीसँगै मुडामा बसेर जान सक्ने अवस्था रहेन्, त्यहीँ भएर पैसा फिर्ता मागेर आइतबारका लागि फेरि टिकट लिएकी छु।’ आइतबार पनि सिट पाउने/नपाउने टुंगो छैन् ।
कालिकोटका भानुभक्त चौलागाई बाँकेको नेपालगञ्जमा कोठा भाडा लिएर अध्ययन गरिरहेका छन्। दशैं विदा लगत्तै उनले नेपालगञ्जबाट सिधै कालिकोट जाने तयारी गरेका थिए। कालिकोटका लागि बसको टिकट नपाएपछि उनी सुर्खेत झरेको पनि दुई दिन भयो। ‘यहाँबाट दैनिक आठ–दश बसहरु जान्छन्, तर पनि बसको सिट पाइँदैन्,’ बसपार्कमा भेटिएका उनले भने, ‘अव मुडामा भएपनि जाने सोच बनाएको छु।’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर साविक कर्णालीको ‘गेटवे’ हो। दैलेख, कालिकोट, जुम्ला र मुगु मात्रै होइन्, सुदूरपश्चिमको अछाम र बाजुरा जानेहरु वीरेन्द्रनगर भएरै यात्रा गर्नुपर्छ। भारतमा रोजगारी गरेर फर्किएका जुम्लाका हंशराज रोकायले दुई दिनसम्म वीरेन्द्रनगरको होटलमा बसेर शुक्रबार मात्रै गन्तव्यतर्फ लागे। ‘दशैं मान्नका लागि कालापहाडबाट फर्किएको हुँ,’ उनले भने, ‘समयमै बसको टिकट नपाउँदा दुई दिनसम्म होटलमा बसेर खर्च गर्नुपर्यो ।’
सुर्खेत बसपार्कमा विभिन्न १४ वटा यातायात व्यवसायीहरुका सम्पर्क कार्यालय छन्। दशैंको मुखमा यातायात व्यवसायीहरुले संयुक्त यातायातका नाममा ‘एकद्वार’ प्रर्णाली लागू गरेपछि यात्रुहरुलाई सिट पाउन मात्रै होइन्, प्रतिष्पर्धा नहुँदा महंगोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। सुर्खेतदेखि दैलेख, जुम्ला हुँदै मुगुको गमगढीसम्म पुग्ने कर्णाली राजमार्गको दूरी २९४ किलोमिटर छ। अरु बेला दैनिक २० देखि २५ वटा बसहरु यो रुटमा चल्थे। अहिले सुर्खेतबाट मात्रै दैनिक ५५ देखि ६० वटा बसहरु जुम्लासम्म पुग्छन्। यातायात व्यवसायीहरु अघिल्ला वर्षहरु भन्दा यो वर्ष यात्रुहरुको चाप अत्याधिक भएको बताउँछन्।
सुर्खेत बसपार्कमा विभिन्न १४ वटा यातायात व्यवसायीहरुका सम्पर्क कार्यालय छन्। दशैंको मुखमा यातायात व्यवसायीहरुले संयुक्त यातायातका नाममा ‘एकद्वार’ प्रर्णाली लागू गरेपछि यात्रुहरुलाई सिट पाउन मात्रै होइन्, प्रतिष्पर्धा नहुँदा महंगोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।
‘कोरोनाका कारण अघिल्ला दुई वर्ष गाउँघरमै गरेर खुलेर दशैं मान्न नपाएकाले पनि हुनसक्छ यो वर्ष गाउँ जाने यात्रुहरुको चाप उल्लेख्य छ,’ कांक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘बसको संख्या थोरै हुनु र यात्रुहरुको संख्या अत्याधिक हुनुले यात्रुहरुले समयमै टिकट बनाउने, धेरै यात्रुहरुलाई राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।’
सुर्खेतमा रहेका यातायात व्यवसायीहरुले मात्रै अहिले कर्णाली राजमार्गमा दैनिक ५५ देखि ६० वटासम्म बस सञ्चालन गरिरहेका छन्। नेपालगञ्जबाट दैनिक २० देखि २५ वटा बस सुर्खेत हुँदै कर्णाली राजमार्गमा गुड्छन्। काठमाडौं, सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाट आएर कर्णालीमा गुड्ने बसहरुको संख्या जोड्दा दैनिक १०० नाघ्छ। ‘कोरोना महामारीले अघिल्ला वर्षहरुमा घर जान नपाएकाहरु पनि यो वर्ष दशैंमा घर फर्किएकाले यात्रुहरुको चाप बढेको हो,’ मध्यपश्चिम यातायात प्रालिका सचिव नारायण चपाईँले भने, ‘यसका साथै गाउँगाउँमा नयाँ रुटहरु पनि सञ्चालनमा आएकाले सवारीको संख्या कम हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ।’
कर्णालीका अधिकांस अभिभावकहरुले अफ्ना छोराछोरीलाई अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायतका ठूला शहरमा पठाउने गरेका छन्। युवा जनशक्ति रोजगारीका लागि कालापहाड (भारत) जाने गरेका छन्। ‘दशैंमा सबैलाई घर जानुपर्ने भएकाले यात्रुहरुको चाँप हुन्छ’ उनले भने, ‘यातायात समिति र साधनहरु थपिदाँ पनि सहज रुपमा यात्रुहरुले यात्रा गर्न पाउँदैनन्।’ बाहिरी जिल्लाहरुबाट पहाडतिर जाने यात्रुहरु यातायातका साधन नपाएर कम्तिमा एक–दुई दिन वीरेन्द्रनगरमा बस्नुपर्ने बाध्यता छ।
कठिनपूर्ण यात्रा
यात्रुहरुलाई बसको टिकट पाउन जति समस्या झेल्नुपर्छ, कर्णाली राजमार्गको यात्रा झन पीडादायि हुन्छ। १५ वर्षअघि गरिएको ओटासिल प्रविधिको कालोपत्रे उप्किएको छ। साधुँरो र जताततै खाल्डाखुल्डीका कारण राजमार्गको यात्रा यात्रुहरुका लागि पीडादायि हुन्छ। त्यसमाथि ‘मृत्यु मार्ग’को परिचय पाएको कर्णाली राजमार्गमा रात्री यात्रा प्रतिवन्ध छ।
दशैं–तिहारजस्ता ठूला चाँडपर्वमा गन्तव्यतर्फ जाने यात्रुहरु एक त टिकट नपाएर हैरान हुन्छन्, त्यसमाथि कर्णाली राजमार्गको रात्री प्रतिवन्धले थप हैरानी खेप्नुपर्छ। सुर्खेतबाट जुम्लासम्मको दूरी जम्मा २३२ किलोमिटर हो। यो दूरी पार गर्नका लागि बसमा १४ देखि २० घण्टासम्म लाग्छ। ‘साधुँरो र खाल्डाखुल्डीका कारण विहान छुटेका बसहरुबाहेक अरु बाटोमै रोक्नुपर्छ’ बस चालक पदम गिरीले भने, ‘चाँडपर्वको बेला राजमार्गमा धेरै सवारी हुने भएकाले समयमै गन्तव्यसम्म पुग्न मुस्किल हुन्छ।’ भिरालो र साधुँरो सडकका कारण अघाडीको एउटा सवारी विग्रिएमा राजमार्ग जाम हुन्छ।
कर्णाली राजमार्गमा दुर्घटना बढ्न थालेपछि तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्मका लागि कर्णालीमा सवारी चलाउन प्रतिवन्ध लगाएको थियो। अहिले त्यसलाई छोड्याएर राति १० बजेदेखि विहान साढे ५ बजेसम्म कर्णाली राजमार्गमा सवारी साधन चलाउन प्रतिवन्ध लगाइएको छ।
‘रात्रीकालित प्रतिवन्धले गर्दा विहान ११ बजेपछि छुटेका प्रायः सवारी साधनहरु कालिकोट सदरमुकाम मान्मासम्म पुग्न पनि मुस्लिक हुन्छ,’ कांक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘साधुँरो र जीर्ण सडक तथा रातीको समयमा सवारी साधन नचल्ने भएकाले पनि यात्रुहरुलाई समस्या हुने गरेको छ।’
प्रकाशित: १४ आश्विन २०७९ ११:३५ शुक्रबार