१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडी ठेल्दै दशैँ मनाउन घर

गोरखा भिमसेन थापा गाउँपालिकाको झिंगटे हुँदै अश्राङ जाने सडकमा केही दिनअघि बस धकाल्दै यात्रु। हिलाम्य गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा पर्ने बेनिघाट आरुघाट सडक खण्ड। तस्बिर: नागरिक

गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ। दशैँ लागिसक्दा गोरखाका सबैकच्ची रुटमा अझै गाडी चल्न नसकेको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ। यात्रुबाहक गाडी हिलोमा ठेल्दै दशैँ मनाउन घर फर्कनुपर्ने बाध्यता सर्वसाधारणलाई छ।  अहिले बारपाक, बोर्लाङ, ताकु लगायत रुटमा नियमित गाडी चलेको छैन। यसअघि यात्रुबाहक बस पुग्ने ३० प्रतिशत भन्दाबढि ग्राणिण भेगमा अझै गाडी चलेको छैन।

ठुलाठुला खाल्डाखुल्डी, हिलो जमेकाले यात्रुबाहक सवारी साधन चल्न सकेको छैन। केही रुटमा चालकले जवरजस्ती जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता छ। गाडी चलेका रुटमा पनि यात्रु धेरै हुँदा सवारी साधन कम भएको शहीदलखन ७ का नेत्रबहादुर थापाले बताए। ‘यस्तो बेला त गाडी थपिदिए सजिलो हुन्थ्यो।’

दशैँ मनाउन शहरबाट गाउँ फर्कनेहरुको चापले गोरखा सदरमुकाम, बाह्रकिलो, सिउरेनीटार लगायत नाकामा सवारी र यात्रुको चाप बढेको छ। यात्रुबाहक सवारी साधनमा सिट नपाउँदा यात्रु उभिएर यात्रा गरिरहेका, मालबाहक सवारी साधन चढेर गन्तब्यतर्फ हिँडेका देखिन्छन्। 

कच्ची सडक हिलाम्य हुँदा मोटरसाईकलमा यात्रा गर्नेहरु जोखिम मोल्न बाध्य छन्। हिलो सडकमा दुर्घटना हुने गरेको छ। वर्षातलाई कारण देखाएर गाउँपालिकाहरुले सडक समयमै मर्मत गरेका छैनन्। केही ठाउँमा मर्मत भएको तर धेरै ठाउँमा बाँकी रहेकाले गाडी चलाउन पनि समस्या भएको ग्रामिण रुटमा यात्रुबाहक बस चलाउँदै आएका चालक चन्द्र रम्तेलले बताए।

‘हामीले सडक मर्मत गरिदिन गाउँपालिकाहरुलाई भनिरहेका छौँ’ प्रालीका अध्यक्ष नारायण खत्रीले भने ‘तर अझै मर्मत भएको छैन, सबै रुटमा गाडी पुगेको छैन।’ आरुघाट, भच्चेक लगायत रुटमा भने गाडी चलेको उनले बताए। सबै पालिकाले दशैँ अगाडी यसअघि सवारी संचालन भएका रुटको सडक सुचारु गराउने बताएपनि काम भएको छैन। दशैँ अगाडी मान्बुमा पहिलो पटक यात्रुबाहक बस लैजाने गरी योजना बनाएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले सडक आयोजना कार्यालयलाई आफ्नो मातहतको सडक सुचारु राख्न निर्देशन दिएको थियो। ठेक्का भएर निर्माण प्रक्रियामा रहेका सडक खण्ड संम्बन्धित निर्माण ब्यवशायीलाई लगाएर सहज रुपमा नियमित गाडी चल्ने बनाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। तर बिकासे अड्डाहरुले सबै सडक मर्मत गरिसेकेका छैनन्।  

दुई महिनादेखि ग्यारेजमा थन्किएका सवारी साधन दशैँ नजिकिँदै गर्दा अझै सबै संचालनमा नआएको ग्रामिण भेगमा यातायात सेवा दिँदैआएको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App