१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीपीडितलाई किटजन्य रोगको जोखिम

अत्यधिक वर्षाका कारण असोज १ मा आएको बाढीबाट पीडित बनेका कैलालीको पूर्वी क्षेत्रका बासिन्दा किटजन्य रोगको जोखिममा रहेका छन्। घरवारविहीन भएका र घरमा बाढी पसेर पीडित बनेकाहरूको अहिले हुलाकी सडकको किनारमा त्रिपालभित्र बास रहेको छ। खुला आकाशमुनि त्रिपाल टाँगेर सडक किनारमा बस्दै आएका बाढीपीडित कालाजार, मलेरिया, डेंगुलगायतका किटजन्य रोग संक्रमणको जोखिममा रहेका हुन्।

भजनी नगरपालिका ९ की सिर्जना बमको घरभित्र खोला पस्यो। लुगाकपडासहित खाद्यान्न सामग्री भिजे। बाढीले पीडित बनेपछि उनी पनि सडक किनारमै खुला आकाशमुनि बसिन्। खुला आकाशमुनि बसेको तीन दिनपछि नेपाल रेडक्रस सोसाइटीले त्रिपाल सहयोग गरेकाले मात्रै उनी नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर बस्न थालिन्। त्रिपालभित्रको रात कष्टकर भएको बताउँदै उनले भनिन्, ‘त्रिपाल शिर छोप्न सहारा बनेको छ।

तर किरा, लामखुट्टे, वन्यजन्तुबाट कसरी सुरक्षित रहने भन्ने त्रास कायमै छ।’ त्रिपालभित्र सुत्दा किरा, लामखुट्टे तथा सर्पको डर उस्तै रहेको बताउँदै उनले भनिन्, ‘सर्प र किरा–फट्याङ्ग्राबाट कसरी बच्ने भन्ने पीडा उस्तै छ। त्यसमाथि हरेक रात धकेल्नै सकस छ।’

सिर्जनाजस्तै भजनी नगरपालिका ५ पुलियापुरकी रीतादेवी कामी असार लागेदेखि नै सडक किनारमा त्रिपालमुनि बस्दै आएकी छन्। सामान्य वर्षा हुँदा पनि घरभित्र पानी पस्ने गरेका कारण उनको हुलाकी सडकमा बास रहेको छ। बस्तीमा पानी जम्दा सुरक्षित बसोबासका लागि उनी वर्षा नसकिएसम्म हुलाकी सडकमै बस्ने गरेको बताउँछिन्। ‘सडक उच्च छ। पारिबाट कान्द्रा नदी बस्तीमा पस्छ’, उनले भनिन्, ‘सामान्य वर्षाले पनि बस्तीमा बसोबास गरिरहेका मानिसको उठिबास गराउँछ। अन्ततः सडक नै काम लाग्छ।’

असार १ देखि सडकमै बसिरहेकी उनी असोज महिना नसकिए घरभित्र बस्न सक्ने अवस्था नरहेको बताउँछिन्। पछिल्लो समयमा हरेक वर्ष वर्षामा यो ठाउँ डुबानमा पर्दै आएको छ। करिब सात वर्षदेखि आफूहरू त्रिपालमा बस्दै आएको बताउँदै उनले भनिन्, ‘हरेक वर्ष वर्षामा डुबान परेका बेला सरकारका निकाय अनुगमन गर्न आउँछन् र गुनासो सुन्छन्। तर समस्याको समाधान कसैले गर्दैनन्।’ आफूहरू सडकका किनार तथा जंगलमा त्रिपाल टाँगेर बस्दा किटजन्य रोगको जोखिम उत्तिकै रहेको उनले बताइन्।

बाढीबाट सबैभन्दा बढी पीडित बनेका भजनी नगरपालिकाका स्थानीय जंगल, विद्यालय र सडकमा त्रिपालको सहारामा बसिरहेका छन्। खुला आकाशमुनि त्रिपालमा दिन गुजारिरहेका उनीहरू स्वच्छ खानेपानी, सरसफाइलगायतका सेवा पाउन सकेका छैनन्। हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ। यो वर्ष पनि बस्ती पूर्णरूपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका छन्।

जसले गर्दा उनीहरूमा किटजन्य रोगको जोखिम बढेको हो। सडकमा बास बस्दा कुकुर तथा मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको उनले बताइन्। बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिक खुला आकाशमुनि त्रिपालभित्र बस्दा किटजन्य रोगको जोखिम बढेको हो। त्यसबाट बचाउन झुललगायत स्वास्थ्य सामग्री विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्ने उनी बताउँछन्। ‘बाढीपीडितसँग पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उनीहरू जोखिममा छन्’,  उनले भने।

बाढीका कारण भजनीमा ७ हजार ९६ परिवार विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किए पनि अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन।

प्रकाशित: ११ आश्विन २०७९ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App