१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना

काठमाडौं— सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रालाई बढाएको हो।महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै जरिवाना बापतको रकमलाई बढाइएको छ। जरिवानाबापत बढाइएको रकम आइतबारबाट देशभर लागू हुने महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए।

डिआइजी अर्यालका अनुसार विगतमा कारवाहीबापत रहेको २५ रुपैयाँ जरिवानालाई बढाएर ५०० पुर्याइएको छ। यस्तै नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवानाको रकम बढाइएको छ। यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो।

'सवारी नियमको प्रभावकारी कार्यान्वयद्धारा दुर्घटना न्युनिकरण गरी सडकलाई सुरक्षित बनाउन समयसापेक्ष कारबाही बापतको जरिवाना बढाइएको हो,' उनले भने, 'यो व्यवस्थापछि सडक सभ्यता कायम राख्न धेरै सहयोग पुग्ने छ।'

नयाँ जरिवानाको व्यवस्था अनुसार नियम मिच्ने चालकलाई अब न्यूनतम ५ सय रुपैयाँ जरिवाना हुनेछ। यसअघि न्यूनतम जरिवाना २५ रुपैयाँ थियो । सरकारले ऐनमा भएको २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म, ५० देखी एक सय रुपैयाँसम्म र एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो।

महाशाखाका अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटक पटक एउटै अपराध गरेमा क्रमश जरिवानाको दर बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परेमा एक हजार र तेस्रो पटक परेमा १५ सय जरिवाना हुने छ । नियम अनुसार ५ पटकसम्म कारवाहीमा परेको चालकलो लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ ।

कुन नियममिच्दा कति कारबाही ?

५०० जरिवाना हुने कसुरहरु

१. तोकिएको भन्दा बढि मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुरयाएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको

१००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

१५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठिक नभएको सवारी चलाएको ।
७. निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धा्रित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८. सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

प्रकाशित: १७ वैशाख २०७३ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App