१५ मंसिर २०७९ बिहीबार
समाज

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थालेका छन्। पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन्। विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्कम अभियान चलाउँदै आएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताए।  

विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थालेका हुन्। साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आएका केसीले म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताए। धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताए।  

केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गरे। बागलुङमा जन्मिएका केसीले पर्यटन अभियानलाई निरन्तररुपमा प्रवद्र्धन गर्दै आएका छन्।

'धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु', केसीले भने, '११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ।' 

पर्यटन प्रवद्र्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताए। साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवद्र्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ।  

जनयुद्धका विषयमा किताबसमेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा ठूलो भूमिका निभाई सकेका छन्। नेपालका ७७ जिल्ला भ्रमण गरिसकेका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आएका छन्। विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताए। 

प्रकाशित: ७ आश्विन २०७९ १९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App