१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

द्वन्द्वका बलात्कार पीडित भन्छन्: सुनाउँदा झन् पीडा हुन्छ, नसुनाउँदा मन गह्रुँगो

सशस्त्र द्वन्द्वका बेला रुकुम पश्चिमकी सुनमाया (परिवर्तित नाम) खाना पकाउँदै थिइन्।  श्रीमान आँगनमा दाउरा चिर्दै थिए।  २०५६ साल बैशाख १२ गते नजिकैको प्रहरी चौकीबाट सात जनाको गस्ती टोली आइपुग्यो। गस्तीमा आएको प्रहरी टोलीले पानी माग्यो। सुनमाया पानी लिन मूल ढोकाबाट भित्र के मात्रै पसेकी थिइन्, गस्तीमा आएका सातै जना उनको पछि लागे। मूल ढोका बन्द गरेर जवजस्ती गर्न थाले।  आठ महिनाकी गर्भवती सुनमायाले प्रतिकार गरिन्। खुकुरी र बन्दूसँगै सात जनाको अघि उनको केही चलेन्। प्रहरीबाट उनी सामुहिक बलात्कारको सिकार भइन्, श्रीमान उनीहरुको कुटाईबाट गम्भीर घाइते भए।  

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर महिला पुनस्थापना केन्द्र (ओरेक) ले वीरेन्द्रनगरमा आयोजना कार्यक्रममा सुनमायाले २३ वर्षअघिको घटना सुनाउँदा सबैको आँखा रसाए। ‘द्वन्द्वले हामीलाई कहिल्यै नमेटिने घाउ लगाएर गएको छ,’ सुनमायाले भनिन्, ‘शान्ति संझौता भएको यतिका वर्षसम्म पनि राज्यले हाम्रो घाउमा मल्हम लगाउने काम नगर्दा पीडामाथि पीडा थुपारेर बसिरहेका छौं।’

सुनमायाको पाठेघर खसेको छ। तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्या झनझन बल्झदैछ। सामुहिक बलात्कारको सिकार भएकी उनलाई श्रीमानले पनि यहीँ कुरा कोट्याएर बेलाबेलामा शारिरिक र मानसिक यातना दिने गर्छन्।  

सशस्त्र द्वन्द्वका रुकुम पश्चिमकी मंगली खत्रीले श्रीमान र छोरा गुमाइन्।  उनी आफै एक वर्षसम्म प्रहरी र सेनाको हिरासतमा बसिन्। हिरासतमा हुँदा उनी पटक–पटक बलात्कृत भइन्। ‘द्वन्द्वले सिउँदोको सिन्दूर पुछियो, काख रित्तियो। आफै हिरासतमा हुँदा बलात्कृत भएँ,’ मंगलीले भनिन्, ‘हाम्रो पीडा राज्यले कहिले बुझेर न्याय दिने हो पत्तो छैन्। ’

सशस्त्र द्वन्द्वमा धेरैले आफन्त गुमाए। कसैको सिन्दूर पुछियो। कसैको कोख रित्तियो। कोही अंगभंग भए।  तर, द्वन्द्वका क्रममा बलात्कृत भएका महिलाहरुको पीडा भने झनझन बल्झदैछ। २०६८ सालमा कालिकोटकी झरना योगी स्कूल जाने तयारीमा थिइन्। आमा–बुवा, दाई र भाउजु खेतमा काम गर्न गएका थिए। तत्कालीन विद्रोही माओवादीका पाँच जना कार्यकर्ता उनको घर आइपुगे।  खाना खाने बहानामा घरभित्र पसेका माओवादीले झरनालाई बलात्कार गरे। माओवादीबाट बलात्कृत हुँदा उनी १४ वर्षकी थिइन्। आफूमाथिको बलात्कार घटना हुने कसैलाई भन्न सकिनन्। त्यो दिन उनी स्कूल पनि जान सकिनन्।  

२३ वर्षको हुँदा उनको विवाह भयो। एक वर्षपछि छोरीलाई जन्म दिइन्। ‘यौनाङ्गबाट रगत बग्ने, सेतो पानी बग्ने समस्या छ, शारिरिक सम्वन्ध राम्रो नहुँदा श्रीमानबाट मानसिक समस्या भोग्दै आएकी छु,’ उनले भनिन्, ‘उमेर जतिजति बढ्दैछ, हाम्रो पीडा पनि त्यतिनै बढ्दै गइरहेको छ।’ आफूमाथि भएको बाल्यकालमै भएको घटना उनले अहिलेसम्म श्रीमानलाईसमेत भन्न सकेकी छैनन्। ‘द्वन्द्वका बेला भएको घटना भन्दा उल्टै श्रीमानले छोड्ने हुन् कि भन्ने डर लाग्छ, त्यहीँ भएर पीडालाई मनमै गुम्साएर राख्ने गरेकी छु,’ उनले भनिन्, ‘हाम्रो पीडा राज्यले कहिले बुझेर मल्हम पट्टी लगाइदेला। ’

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख मानबहादुर कार्कीले द्वन्द्वका क्रममा भएका यौन हिंसाका घटनालाई बाहिर ल्याउनु निक्कै चुनौतिपूर्ण भएको बताए। ‘आयोगमा पनि अत्यन्तै न्यून घटनाहरु दर्ता भएका छन्, दर्ता भएका घटनाको अनुसन्धानमा झन ठूलो समस्या छ,’ उनले भने, ‘द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट भएका बलात्कारका घटनालाई गम्भीर रुपमा लिएर पारिवारिक र सामाजिक द्वन्द्व सृजना नहुने गरेर समाधान गरिनुपर्छ।’

महिला पुनस्थापना केन्द्र (ओरेक) का कार्यकारी निर्देशक लुभराज न्यौपानेले सशस्त्र द्वन्द्वको धेरै पीडा भोगेको कर्णालीमा बलात्कार तथा यौनजन्य घटनाहरु पनि धेरै भएको बताए। उनले द्वन्द्वका क्रममा बलात्कृत भएका महिलाहरुले यौन तथा प्रजनन सेवा नपाउँदाको पीडालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए।

प्रकाशित: ७ आश्विन २०७९ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App