१६ चैत्र २०८० शुक्रबार
समाज

ताप्लेजुङमा एक हजार बढीले दिए म्यादी प्रहरीका लागि आवेदन

आउँदो प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ताप्लेजुङबाट १ हजार २ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा १ हजार ६ सय २ जनाले आवेदन दिएका थिए। स्थानीय तहको भन्दा अहिले ६ सय कमको आवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईका अनुसार ७ सय ६४ पुरुष र २ सय ३८ महिलाले आवेदन दिएका छन्। त्यसमध्ये ३ सय १० पुरुष र १ सय १२ महिला गरी कूल ४ सय २२ जना पूर्व म्यादी प्रहरीले आवेदन दिएको प्रहरीले जनाएको छ।

नेपाली सेनाबाट सेवानिवृत्त २ जनाले आवेदन दिएका छन्। ४ सय ५२ पुरुष तथा १ सय २६ महिला गरी ५ सय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। डिएसपी राईका अनुसार कति संख्यामा म्यादी प्रहरीमा भर्ना लिने भन्ने चाँहि यकिन भएको छैन।

गत स्थानीय तहको निर्वाचनमा भन्दा दुईवटा मतदानस्थल थप भएकोले म्यादी प्रहरीको भर्ना संख्या पनि स्थानीय तहको भन्दा बढ्न सक्ने भने देखिएको छ। गत स्थानीय तहको निर्वाचनमा ६ सय ५५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुने भएको छ।

जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिनसम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७ सय ६० रूपैयाँ प्राप्त हुनेछ। यस्तै खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २ सय रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन्।

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुने भएको छ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ। प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्ममा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने समयसीमा निर्धारण गरेको थियो।

प्रकाशित: ७ आश्विन २०७९ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App