दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरीसिकारीसंगै उचित बासस्थान नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा संरक्षण चुनौती बन्दै गएको हो। वि.स. २०५५सालदेखि हालसम्म यहाँ एक सय ७९ वटा गैँडा चोरीसिकारीले मारेका छन्। तर, पछिल्लो दश बर्षमा नौ वटा गैँडा चोरी सिकारी भएको निकुञ्जको तथ्याङ्ककमा उल्लेख छ।
चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेर गरेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बीचको ११ वर्षको अवधिमा १५८ वटा गैँडा चोरीसिकारीले मारेका थिए भने सन् २००२ मा एकै वर्षमा ३८ वटा गैँडा चोरीसिकारीले मारेका छन् । यो नै एकैवर्षमा सबैभन्दा बढी गैँडा मरेको बर्ष मान्ने गरिएको छ।
आर्थिक बर्ष २०६९/२०७०मा एक, २०७०/०७१मा एक र आव २०७३/०७४मा एक वटा गैँडा चोरी सिकारीले मारेका थिए। त्यसपछि केही बर्ष रोकिएको चोरी सिकारी आव २०७७/०७८मा एक्कासी चार वटा गैँडा तस्करले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। गत आर्थिक बर्षमा २ वटा गैडा मारिएका छन्। आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७मा चितवनमा गैँडाको चोरीसिकार भएन। सो समय निकुञ्जले चोरी सिकार बर्ष मनाएको समेत थियो। तर, पछिल्ला दुईबर्षदेखि चोरी सिकारी र कालगतिले भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ।
प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैँडा बूढो भएर, एकापसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्। गत आर्थिक बर्ष ३७ वटा गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ। त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७७/०७८मा ३३ र आव २०७६/०७७मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्षमा गैँडा संरक्षणमा चुनौती थपिदै गएको बताउँछन्।
‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘उचित बासस्थान नहुँदा मानव बस्तीमा आउने र मावन र गैँडाबिचको द्वन्द्व बढीरहन्छ। अर्को तर्फ दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या नै प्रमुख छ।’ घाँसेमैदान निर्माण र चोरी तस्करी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने उनको भनाई छ।
चितवन राष्ट्रिय निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैँडा मरेका भेटिएका थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । अघिल्लो २०१५को गणनामा चितवनमा ६०५ गैँडा थिए। यसरी गैँडाको संख्या बढ्दा मानव वस्तीमा समेत आउने गरेका छन्। जसले मानव र गैँडा बिच द्वन्द्व बढ्दै गएको छ। यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरिचरणको व्यवस्थापन र चोरी सिकारी नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारी बताउँछन्।
‘कोरोना महामारीको समयमा गैँडा चोरी सिकारी भएको पाईएको छ। तर, पछिल्लो एक बर्षमा भएको छैन।’ उनले भने, ‘हामी घाँसेमैदान व्यवस्थापन, गैँडा आहाल बस्ने पोखरी निर्माण गरि उचित बासस्थान सहित गैँडा मर्ने क्रम रोक्ने तयारीमा छौँ।’ गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो । निकुञ्जले गैँडा तस्करमा सम्लग्न ६ जनालाई पक्राउ गरेको समेत उनले बताए। हाम्रो लक्ष्य गैँडाको चोरी सिकारलाई शुन्यमा राख्ने हो। हामीले नेपाली सेना, सिआइवि, नेपाल प्रहरीको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम बढाएका छौँ, उनले भने, ‘प्राकृतिक कारणले मर्ने गैँडालाई हामीले रोक्न सक्दैनौँ।’ तर, चितवन राष्ट्रिय निकुञ्ज भित्र दलदलमा फसेर र बाढीले बगाएर अधिकांश गैँडा मर्ने गर्दछन्। त्यससंगै एक आपसमा जुधेर पनि गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्ककमा उल्लेख छ।
समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ। सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको छ। निकुञ्ज वरीपरिका मानिसहरु पनि संरक्षणमा जुटेको पाईन्छ। मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना गैँडा संरक्षणमा स्थानीय सहमुदायको महत्वपूर्ण भूमिका रहेको दावि गर्दछन्। गैँडा सिकारविरूद्ध समुदायको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै उनको भनाई छ। प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैँडाको मृत्यु न्यूनीकरण गर्नु गर्नुपर्ने बताउँछन्।
प्रकाशित: ६ आश्विन २०७९ १४:०८ बिहीबार