६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

गर्भवती पत्नी छाडेर पीडितको उद्धारमा

काठमाडौं-'सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्,

हामी सशस्त्र प्रहरीको उद्धार टोली,

हाम्रो आवाज सुनिरहनुभएको छ भने सहयोगका लागि आवाज दिनुस्,

सक्नुहुन्छ भने कुनै वस्तुले पाँचपटक ढकढक्याउनुस् ।'सशस्त्र प्रहरीबल विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारको टोली भग्नावशेषमा उभिएर यसै भनिरहन्थ्यो । सूचना दिइसकेपछि खण्डहरभित्रबाट प्रतिक्रिया पर्खंदै कान टाठा पाथ्र्यो ।

कुरिनटारबाट प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेत नेतृत्वको ३० जनाको टोली उद्धारमा खटिएको थियो । वैशाख १२ गते काठमाडौं पुगेपछि टोली १५–१५ जनामा बाँडियो । एउटा टोलीको नेतृत्व बस्नेतकै काँधमा थियो । जहाँ मान्छे च्यापिएको खबर आउँथ्यो, उनी उद्धार सामग्रीसहित पुगिहाल्थे ।

'आफ्नो सूचना राख्ने अनि भग्नावशेषनजिकै गएर प्रतिक्रिया सुन्ने हाम्रो पहिलो काम थियो,' एक वर्षअघिको घटना सम्झँदै बस्नेतले भने, 'एक–दुई दिनसम्म कसैले केही आवाज दिएन तर हामीले आफ्नो काम छाडेनौं ।'

भूकम्पको ३ दिनपछि अर्थात् वैशाख १५ गते टोली नयाँ बसपार्कमा थियो । उसै गरी माइकिङ गरिरहेकै थियो । नजिकैको सयपत्री गेस्टहाउसबाट आवाज आयो, पाँचैपटक । भासिएको घरभित्र कोही उद्धार पर्खाइमा रहेको निक्र्योल भइहाल्यो ।

'सायद इँटाले काठमा हानेको हुनुपर्छ । पाँचपटक लगातार आयो,' उनले भने, 'भूकम्प गएको ८२ घन्टापछि हाम्रो अभियानले काम गरेकोमा निकै खुसी भयौं ।'

भग्नावशेषमा फसेका ती व्यक्ति थिए, अर्घाखाँचीका २८ वर्षीय ऋषि खनाल । बिहान ८ बजेतिर भित्र छिरेका बस्नेतले टोलीको सहयोगमा उनलाई उद्धार गरे । पाँच घन्टाको प्रयासपछि खनाललाई जीवितै बाहिर निकाल्नु टोलीको सबैभन्दा ठूलो सफलता रह्यो ।

दुई दिनपछि अर्को महŒवपूर्ण सफलता हात लाग्यो । गोंगबुको हिल्टन होटल क्षेत्रमा कंक्रिट हटाउने काम हुँदै थियो । डोजर केही बेर रोकियो । 'डोजर रोकिनेबित्तिकै घरभित्रबाट मान्छे कराएको आवाज आयो,' बस्नेतले सुनाए । साततले भवन भत्केर थुप्रिएको थियो । भुइँतला मात्र भासिन बाँकी थियो । त्यहीँबाट आवाज आएको अनुमानमा उनी भित्र छिरे ।

नुवाकोट स्थायी घर भएका १५ वर्षीय पेम्बा लामालाई टोलीले नयाँ जीवन दियो, भूकम्प गएको झन्डै १ सय २० घन्टापछि ।

'धन्न हामीले डोजर केही बेर रोक्यौं र उनको आवाज सुनियो,' उनले भने, 'डोजर नरोकेको भए के हुन्थ्यो, थाहा छैन ।' खनाल र लामाको सफल उद्धारका पछाडि टोलीको मेहनत र नेतृत्वदायी क्षमताले प्रहरी निरीक्षक बस्नेतलाई संसारभर चिनायो ।

बस्नेत उद्धारमा खटिइरहँदा उनकी पत्नी दुईमहिने गर्भवती थिइन् । पत्नीलाई खुला चौरमा छाडेर उनी कुरिनटारबाट आएको ३० जनाको टोली सम्हाल्न भूकम्पको एकै घन्टामा कलंकी पुगेका थिए ।

'केन्द्रबाट केही दिन बिदामा काठमाडौंस्थित घर आएको थिएँ,' उनले सम्झिए भने, 'शुक्रबार काठमाडौं आएको थिए । शनिबार बसेर आइतबार केन्द्र फर्किने योजनामा थिएँ । अकस्मात् भूकम्प गइहाल्यो ।' भूकम्पका बेला कोखमा रहेकी छोरी अहिले ४ महिनाकी भइन् ।

टोलीको जिम्मेवारी यतिमै सीमित रहेन । उनीहरू भग्नावशेष पन्छाएर दैनिक १५ वटासम्म लास झिकिरहेका थिए । आलोपालो गरेर डेढ महिनासम्म चौबीसै घन्टा यसै गरी खटिइरहे ।

२०६४ सालमा सेवा प्रवेश गरेका बस्नेत २०६९ सालदेखि केन्द्रमा विपत् व्यवस्थापन तालिम लिन थाले । बिदामा रौतहट, सन्तपुरस्थित घर जाँदा गाउँमा भोगेको घटनाले उद्धार क्षेत्रमा लाग्न प्रेरित गरेको उनले सुनाए ।

'म घर पुगेका बेला एक स्कुले बालक नहरमा फसे । पौडिन जान्ने भएकाले उनलाई खोज्न नहरमा हाम फालेँ,' उनले सुनाए, 'तरिका नजानेकाले बच्चा भेटिनँ । बच्चा केही घन्टापछि २-३ किलोमिटर तल मृत फेला पर्यो ।' यो घटनाले उनलाई आपत्कालीन उद्धारमा लाग्न प्रेरित गर्यो । अनि ०६९ सालमा केन्द्र पुगे ।

'सशस्त्र प्रहरीमा लागेपछि राज्यले लगाएको काममा व्यक्तिगत स्वार्थलाई टाढा राख्नुपर्छ,' उनी गर्व गर्छन्, 'त्यसैले गर्भवती पत्नीलाई छाडेर उद्धारमा लागेँ ।'

प्रकाशित: ११ वैशाख २०७३ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App