१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने

कैलालीको जोशीपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। गाउँपालिकाले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा वडास्तरबाटै भत्ता वितरण गर्ने निर्णय गरेको छ।  

गाउँ कार्यपालिकाको यही भदौ १३ गतेको बैठकले चालु आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी भत्ता वितरण वडास्तरबाटै गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले जानकारी दिए।  

उनले गाउँपालिकाका सात वटै वडामा दुई/दुई स्थानबाट भत्ता वितरण हुने बताए। बैंकका कर्मचारीहरुले नै वडामा पुगेर लाभान्वित व्यक्तिहरुलाई भत्ता उपलब्ध गराउने बताईएको छ।  

प्रमुख प्रशासकीय अधिकृत खत्रीले बैंकमा लामो लाईन लागेर लाभान्वित व्यक्तिहरुले कठिनाई भोग्नु परेको जनगुनासोलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बताए। उनले वडाका दुई ठाउँबाट भत्ता वितरण हुँदा लाभान्वित व्यक्तिहरुको चाप समेत कम हुने भएकाले सहज हुने बताए।  

गाउँपालिकाले सातवटै वडाका ३ हजार २२४ जनालाई भत्ता वितरण गर्नेछ। भत्ता पाउने लाभान्वितमा जेष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्ता, एकल महिला र दलित छात्रछात्रा रहेका छन।  उनीहरुले त्रैमासिक रुपमा भत्ता पाउने छन्।    

यसरी भत्ता वितरण गर्दा लाभान्वित व्यक्तिहरुलाई सहज हुने मात्रै नभई पारदर्शी समेत हुने गाउँपालिकाले विश्वास गरेको छ। 

प्रकाशित: ५ आश्विन २०७९ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App