१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुख्खा खडेरीले खेती गर्न नपाउँदा नरैनापुरमा खाद्य संकट

राहतका लागि नरैनापुर गाउँपालिका कार्यालय पुगेका स्थानीय बासिन्दा। तस्बिर: अर्जुन/नागरिक

बाँके, नरैनापुर–६ गंगापुर कि कृष्णावती मौर्य अचेल दिनहुँजसो गाउँपालिका कार्यालय धाउँछिन्। गाउँपालिकाबाट चामल, दाल पाउने आशाले उनी कार्यालयमा पुग्ने गरेकी हुन्। सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा रहेको सबै खाद्यान्न रित्तिएपछि भोकमरीको समस्या आएको कृष्णावतीले दुखेसो पोखिन्। ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन, खेतबारी पुरै बाँझो छ,’ उनले नागरिकसँग भनिन् ‘घरमा भोकमरीले सताउन थालेको छ। ’  

कृष्णावती जस्तै नरैनापुर ४ निवासी रिता कलवारको समस्या पनि उस्तै छ। उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ। खेतबारी बाँझै छ। घरमा राखिएको खाद्यान्न रित्तिसक्यो।  भोकमरी सुरु भएपछि गाउँपालिका आउनु परेको उनले पनि सुनाईन्। ‘खेतबारी बाँझै छन्, साँझ र बिहानको छाक टार्न नसकेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भनिन्।  

बाँकेको नरैनापुर गाउँपालिकामा अहिले खाद्य संकट (भोकमरी) सुरु भएको छ। भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन्। सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको उनीहरु बताउँछन्।  

नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ। सुख्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन्। गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३÷३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो।  

अर्थमन्त्री जनार्दन शर्मा केहीदिन अघि मात्र नरैनापुर पुगेर स्थलगत निरीक्षण गरेका थिए। यस्तै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सांसद समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए। तरपनि, अहिलेसम्म सरकारले नरैनापुरका लागि राहत उपलब्ध गराउन सकेको छैन।  

गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यसअघि शाहले खेती गर्न नपाएका अधिकांस किसानको घरमा भोकमरी सुरु भइसकेको बताए। ‘भोकमरीबाट पीडित किसानहरु अहिले ठुलो संख्यामा गाउँपालिका आउने गरेका छन, मेरो घरमै पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ शाहले नागरिकसँग भने ‘संघिय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद कुरा हो। ’  

गाउँपालिकाको सिमित बजेटबाट सुख्खा खडेरी प्रभावितलाई राहत वितरण गर्न असम्भव भएको उनले बताए। सरकारले चाडै राहत कार्यक्रम नल्याए नरैनापुरमा समस्या झन् विकराल बन्ने अध्यक्ष शाह बताउँछन्। खाद्य संकटबाट ठुलो जनसंख्या प्रभावित हुने उनको आशंका छ।

प्रकाशित: ३ आश्विन २०७९ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App