१३ मंसिर २०७९ मंगलबार
समाज

राणाकालमै भूमिगत थियो टुकुचा

हात्तीसारस्थित जय नेपाल सिनेमा हलको कम्पाउन्डमा बिहीबार उत्खनन गरिएकोटुकुचा ।

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ। करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

‘एक सय वर्षभन्दा अगाडिको यो संरचना अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘परम्परागत तरिकाबाट बज्र, चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना जथाभाबी भत्काउनेभन्दा पनि संरक्षण जरुरी छ।’

त्यस्तै धेरै पहिला टुकुचालाई भूमिगत बनाइएका कारण यस क्षेत्रमा रहेका घरधनीहरूको पनि कुनै गल्ती नभएको उनको बुझाइ छ। ‘त्यो समयमा कुनै उद्देश्यका साथ टुकुचालाई छोपिएको थियो होला,’ उनले भने, ‘त्यसको दण्ड अहिलेका घरधनीले भोग्नु जायज हुँदैन।’ यो अतिक्रमण नभई तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन भएको उपाध्यायको बुझाइ छ। ‘त्यसैले यहाँ कुनै पनि किसिमको भौतिक संरचना बनाउने व्यक्ति वा निकायलाई टुकुचा अतिक्रमण गरेको आक्षेप लगाउनु अनुचित हुन्छ,’ उनले भने, ‘अतिक्रमण नै मान्ने हो भने पनि राज्यकै स्वीकृतिमा भएको हो। यहाँ घर बनाउनेले त्यही स्वीकृतिमा बनाएका हुन्।’

उपाध्यायको भनाइसँग टुकुचा आसपास क्षेत्रका सर्वसाधारण सहमत छन्।

‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल सिनेमा हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं।’

काठमाडौं महानगरपालिकाले टुकुचालाई पुरानै स्वरूपमा ल्याउने भनेको छ। टुकुचामा पानीको बहावका लागि चार मिटर र दायाँबायाँ चार-चार मिटरको करिडोर बनाउने महानगरको योजना छ। महानगरले करिडोरमा पैदल मार्ग, साइकल लेन र हरियाली पार्कसमेत निर्माण गर्ने भनेपछि मिश्रजस्तै थुप्रै त्रसित छन्।

वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एकाएक उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने मिश्रले बताए।‘मेरा बुबाले त्यतिबेलाको सरकारी नियमअनुसार नै यस क्षेत्रको जमिन नियमसंगत किनेका हुन्,’ मिश्र भन्छन्, ‘तर अहिले आएर हामीमा त्रास छाएको छ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर कसैले त्रसित हुनुपर्ने अवस्था नआउने बताउँछन्। टुकुचा पनि जोगिने नागरिक पनि पीडित नहुने अवस्थाको खोजीमो महानगर रहेको उनले बताए। ‘हामी चाँडै यस विषयलाई सम्बोधन गर्न कार्यदल गठन गर्नेछौं,’ उनले भने, ‘टुकुचा, सहरको सुन्दरता र घरधनी सबैलाई जोगाउँदै अगाडि बढ्नेछौं।’ खोलाको सांस्कृति स्वरूप र नागरिक दुवैलाई न्याय दिन महानगरपालिका पछि नपर्ने उनले बताए।

नारायणहिटी संग्रहालय दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जय नेपाल सिनेमा हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जय नेपाल सिनेमा हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा देखिन्न, भूमिगत छ। सामाजिक सञ्जालमा भेटिएको राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार विक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी बनाउन जग्गा अधिग्रहण गरिएको र खोलालाई सुरूङभित्र बगाएर पुरिएको उल्लेख छ।

सहरी विकासमा चासो राख्ने उद्यमी आशितोष तिवारी महानगरपालिकाको अहिलेको प्राथमिकता टुकुचा नभएर अन्यन्त्र हुनुपर्ने बताउँछन्। ‘महानगरका धेरै समस्या छन्, ती समस्या हल गर्दै अगाडि बढ्नुपर्ने हो,’ उनी भन्छन्, ‘तर महानगर अहिले टुुकुचामा अल्झिएको छ।’ टुकुचाजस्तो जटिल समस्यामा अल्झिँदा त्यसबाट निस्कन महानगरलाई अप्ठेरो पर्ने उनको बुझाइ छ।

तर महानगरपालिका टुकुचाको उत्खननमा निरन्तर लागेको छ। पहिलोपटक बिहीबार जय नेपाल सिनेमा हलको कम्पाउन्डभित्र १५ मिटर गहिरो खनेर टुकुचा उत्खनन गरेको महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंकनिरको पर्खाल भत्काउनुका साथै बाटोमा डोजर चलाएर जमिनमुनि बगेको टुकुचा फेला पारेको थियो।

त्यस्तै महानगरपालिकाले आइतबार हात्तीसारस्थित सिद्धार्थ बैंकपछाडि टुकुचा खोलाको उत्खनन गरेको छ। डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा बगिरहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले साउन १२ गते सार्वजनिक सूचना जारी गरी टुकुचामा भएको अतिक्रमण हटाउन भनेको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि टुकुचाको उत्खनन तथा खोजी सुरु गरेको महानगरले वरपरका घरलाई केही दिनमै भत्काउने चेतावनीसमेत दिएको थियो।

खोला कि ढल?

टुकुचा उत्खननसँगै यो खोला हो कि ढल भन्ने विवाद उत्पन्न भएको छ। कोही यसलाई ढल भन्दै उत्खनन गरेर यत्तिकै राख्दा झनै कुरूप हुने बताउँछन्। कोही यसलाई इच्छुमती खोला भन्दै यसको उत्खनन् र संरक्षण गर्नुपर्ने सुझाउँछन्। ‘यसको चरित्र खोलासँग मेल खाँदैन,’ जलाधारविज्ञ उपाध्याय भन्छन्,‘त्यसैले यो खोल्सा या ढल हुन सक्छ।’ खोलाको बहाव, यसमा भेटिने बालुवा तथा जीवहरूको आधारमा यो खोला हुन नसक्ने उनको बुझाइ छ।

इतिहासविद् दिनेशराज पन्त भने यो इच्छुमती नाम गरेको खोला भएको बताउँछन्। ‘यो खोला नै हो,’ उनले भने, ‘बाल्यकालदेखि नै हामीले देख्दै आएका हौं।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धर पनि यो ढलमती अथवा कुनै खोल्सा नभएर इच्छुमती नै भएको बताउँछन्। ‘ढल हुन्थ्यो भने यसको कुनै नाम हुँदैनथ्यो,’ उनले भने, ‘इच्छुमतीसमेत नाम भएको टुकुचा पुरानो खोला हो।’

टुकुचामाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले कानुनबमोजिम उचित क्षतिपूर्ति नदिई घरलगायतका संरचना नभत्काउन आइतबार काठमाडौं महानगरपालिकाका नाममा यस्तो आदेश जारी गरेको हो। यो आदेश अन्तिम भने होइन। दुवै पक्षलाई पेसी तोकी असोज ५ गते छलफलमा बोलाइएको छ। यो आदेशलाई निरन्तरता दिने वा बदर गर्ने निर्णय सोही दिन हुनेछ।

जेनेक्स इन्भेस्टेमन्टको नाममा काठमाडौं महानगरपालिका–१ कित्ता नम्बर ७ को क्षेत्रफल ०–९–१–१.६, उत्तरमान लामाको नाममा रहेको कित्ता नम्बर ३०३८ क्षेत्रफल ०–५–२–० र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको कित्ता नम्बर ३०३९ को क्षेत्रफल ०–५–२–० मा बनेका घरहरू कानुनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ।

रिट निवेदकहरूले काठमाडौं महानगरपालिका–१ स्थित कित्ता नम्बर ७ को घरजग्गा २०६८ सालमा खरिद गरी भोगचलन गर्दै आएको तथा कित्ता नम्बर ३०३८ र ३०३९ को १० आनाभन्दा बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको देखिएको अदालतले जनाएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाबिक्रम थापासमेत तीनजनाले घर भत्काउन रोक लगाउँद शुक्रबार उच्च अदालतमा रिट दिएका थिए।

प्रकाशित: ३ आश्विन २०७९ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App