१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

गुन्द्रुकको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका।

कतिपय स्थानीय तह दीर्घकालीन महत्वका काम गरेर चर्चामा छन् कतिपय चाहिँ ठुुल्ठूला भौतिक पूर्वाधार निर्माण गरेर र स्रोत सुनिश्चित नै नभएपनि नागरिकलाई अनुदानका नाममा पैसा बाँडेर प्रचार बटुल्दै छन्। तर, किसानसम्मलाई प्रत्यक्ष फाइदा पुग्ने र स्थानीय उत्पादनको बजार निश्चित गर्नेगरी योजना बनाउने स्थानीय तह चाहिँ देशमा सम्भवतः थोरैमात्र भेटिन सक्छन्।  

जिल्लाको रोङ गाउँपालिका पनि ठूलो काम गरेर होइन, फरक काम गरेर किसानको नजिकको सरकार ‘अनुभूत’ गराउन खोज्दैछ। र, गाउँपालिकाले अहिले फरक कार्यक्रम ल्याएको छ– गुन्द्रुक उत्पादनमा अनुदान र बजारीकरणका लागि ब्रान्डिङ।

गाउँपालिकाले चालू वर्ष स्थानीय किसानलाई गुन्द्रुक उत्पादनका लागि सहयोग गर्दैछ। र, जति उत्पादन हुन्छ, त्यसको बजारीकरणको बाटो पनि देखाउँदैछ। गाउँ–गाउँका होम–स्टे, बजारका होटल र सहरतिरका घरमा पनि गुन्द्रुकको माग बढ्दै गएपछि रोङले यसको प्रवद्र्धनमा किसानलाई सहयोग गर्ने योजना ल्याएको हो। गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुुवास)ले गुन्द्रुक उत्पादनमा किसानलाई सहुलियत दिने र उनीहरूले उत्पादन गरेको सबै गुन्द्रुक गाउँपालिकाले नै बिक्रीको जिम्मासमेत लिनेगरी कार्यक्रम ल्याएको बताए। 

उनका अनुसार नयाँ जातको फलफूल खेतीमा किसानको प्राविधिक ज्ञान र सीप बढाउने, बढी लगानी हुने तर गुन्द्रुक उत्पादनमा त्यस्तो लगानी गर्न नपर्ने बताए। ‘गुन्द्रुक कसरी उत्पादन गर्ने भन्नेबारे किसान जानकार छन्, त्यसैले हामीले त्यसका लागि लगानी गर्नुपर्दैन,’ उनले भने, ‘किसानसँगै ज्ञान र सीप भएको बाली उत्पादन गरेर उनीहरूको आर्थिक उपार्जन गर्न गुन्द्रुक एउटा माध्यम बन्नसक्छ।’  

गाउँपालिकाले यो वर्ष किसानबाट २ हजार किलो गुन्द्रुक उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि किसानलाई सहुलियत कर्जा र कृषक सहकारीलाई प्रोत्साहनलगायत कार्यक्रम राखिएको छ। अहिलेसम्म सहकारीका माध्यमबाट ५ सय हाराहारी किसानले गुन्द्रुक उत्पादनमा चासो देखाएको उनले जनाए। गुन्द्रुकका लागि साग, मुला तयार भएपछि गुणस्तरीय गुुन्द्रुक उत्पादनका लागि तालिमसमेत दिइने छ। किसानलाई ड्रायर मेसिन पनि अनुदान दिइने छ। गुन्द्रुक उत्पादन गर्ने किसानलाई प्रतिकिलो ८० रुपैयाँ अनुदान दिइने छ। ‘गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रंगलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग पनि गर्नेछौं,’ अध्यक्ष स्याङ्बोले भने, ‘यसका लागि स्विस सरकारले पनि गाउँपालिकालाई सहयोग गर्नेछ।’  

उनले देशका ठूला सहरमा विदेशबाट गुन्द्रुक आयात भइरहेको तर यहीं उत्पादन हुने उच्च गुणस्तरको गुन्द्रुक चाहिँ कुहिएरै जाने गरेको बताए। ‘गुन्द्रुकबाटै समृद्धि ल्याउने हाम्रो लक्ष्य होइन,’ उनले भने, ‘नास भइरहेको गुन्द्रुकलाई गुणस्तरीय बनाएर बजारसम्म लैजान सहयोग गर्ने हो। नास हुने वस्तुलाई आम्दानीमा परिवर्तन गर्ने हो।’ उनले गुन्द्रुक उत्पादन र गुणस्तर बढेपछि यसको बजार आफसे आफ बढेर जाने बताए।  

गाउँपालिकामा उत्पादन भएको गुन्द्रुक बिक्रीका लागि देशका ठाउँ–ठाउँमा बिक्री केन्द्र स्थापनामा समेत सहयोग गर्ने कार्यक्रम छ। बिक्रीका लागि सहरका ठूला होटल र पार्टी प्यालेसहरूमा पालिकाले नै कृषक सहकारीको सम्पर्क गराइदिने छ। ‘सुरुमा किसानलाई अनुदान दिएर भएपनि गुन्द्रुकलाई ब्रान्डिङसम्म पुर्‍याउनु छ, त्यसपछि  यसको माग र मूल्य दुवै राम्रो भएपछि अनुदान दिनुपर्दैन,’ उनले भने, ‘यो दीर्घकालीन र व्यावसायिक खेती हुनसक्छ।’  

चालूू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ।  

‘आउँदो वर्ष अरू कृषि उत्पादनलाई पनि पालैसँग प्रोत्साहन गर्दै लगिने छ,’ उनले भने, ‘कृषिलाई पर्यटनसँग जोडर किसानको आर्थिक अवस्था सुधार्न गाउँपालिकाले कृषिमा अरू पनि विविध कार्यक्रम ल्याएको छ।’

प्रकाशित: १ आश्विन २०७९ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App