तिहारमा पटकाजन्य पदार्थको बिक्रि वितरण नगर्नु होला । पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे जेलको बास हुन सक्नेछ। कानुन अनुसार यस्तो गतिविधिमा संलग्न भए तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको जानकारी दिए।
पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई पनि कारबाही हुने कानूनमा उल्लेख छ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको बताए। चेकजाँच गर्दा यदि त्यस्ता बस्तु फेला पर्यो भने बरामद गर्ने र कानुनी कारबाही हुने तिवारीले जानकारी दिए।
प्रकाशित: १६ कार्तिक २०८१ ०७:४७ शुक्रबार