१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेवार संस्कृतिको निरन्तरतामा गैरनेवार

जात्राको पहिलो दिन भक्तपुरको टौमडीमा तरबारका साथ मूपात्र। तस्बिर: उपेन्द्र लामिछाने

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध मूपात्र (राक्षसको प्रतीक) जात्रा सोमबारबाट सुरु भएको छ। मूपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण हो। तर, जात्राको मुख्य पात्र बन्न नेवार समुदायमा कोही रुचाउँदैनन्।  

यस्तोमा नेवार समुदायको सस्कृतिको निरन्तरताका लागि मूपात्रको भेषमा हातमा तरबार लिएर गैरनेवार समुदायका पाल्देन लामाले सहयोग पुर्‍याउँदै आएका छन्। विगत दुई दशकदेखि जात्रामा सहभागिता जनाउँदै आएका ३७ वर्षीय लामाले अघिल्लो वर्षदेखि मुख्य पात्रको भूमिका निभाउँदै आएको बताए।  

‘पहिला राजाको सहयोगीको भूमिकामा हुन्थे,’ उनले भने, ‘राजाको भूमिका निभाउँदै आएकाले छोडेपछि मुख्य भूमिका मैले नै निभाउन थालेको हु।’ यसअघि रामेछाप, गुम्देलका ७५ वर्षीय मकरबहादुर भुजेल मूपात्र बन्दै डेढ दशकदेखि नेवार संस्कृतिको निरन्तरतामा सहयोग पुर्‍याउँदै आएका थिए। नेवारी संस्कृतिमा यो पात्र बन्नुलाई राम्रो नमानिएका कारण हामीले आफूहरूले यो मूपात्रको भेष धारण गर्नुपरेको उनले सुनाए।  

मूपात्रलाई राक्षसको प्रतीक मान्दै दुःख दिने चलन पनि छ। लामाले विगतमा थुप्रै चोट खाए पनि अहिले त्यसमा कमी आएको सुनाए। ‘पहिला पहिला त हामीलाई साच्चिैकै राक्षसजस्तो ठानेर गाली गर्ने र पिट्ने गरिन्थ्यो। बिस्तारै दुःख दिने काममा कमी आएको छ,’ मूपात्र पाल्देन लामा भने। कसैले आक्रमण गर्ला भनेर प्रहरीको सुरक्षा भने आफूहरूले अझै पनि पाइरहेको उनले बताए।  

भक्तपुरस्थित गुठी संस्थानका कर्मचारीको आग्रहमा आफूले जात्रामा सहभागिता जनाएको उनले सुनाए। गुठी संस्थानका प्रमुख खिमा ओलीले उनीहरूलाई आर्थिक सहयोग दिएर तीन दिनको जात्रामा सहभागिता गराएको बताइन्। ‘मूपात्र बन्न सकभर कोही तयार हुँदैनन्,’ ओलीले भनिन्, ‘जात्रामा सहभागिता जनाएर उहाँहरूले सस्कृतिको निरन्तरतामा सहयोग पुर्‍याउनुभएको छ।’ जात्रामा उनीहरूको सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्थासमेत गरिएको उनले बताइन्।  

यसपटकको मूपात्र जात्राको पहिलो दिन सोमबार दत्तात्रय मन्दिर नजिकको नारायण मन्दिरबाट नगर परिक्रमा सुरु गर्दै सोही स्थान पुगेपछि सम्पन्न भएको थियो। त्यसैगरी दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन भएको छ। अन्तिम दिनको जात्रा बुधबार टौमढीस्थित भैरव मन्दिरबाट सुरु भई त्यहीँ पुगेर सम्पन्न भएको सस्कृतिविद् ओम धौभडेलले जानकारी दिए।  

जात्राका बेला हातमा खड्ग लिएका मूपात्रले टोलटोलमा ठड्याइएका यम द्य (इन्द्रका छोराको प्रतीकका रूपमा रहेको लिङ्गो)लाई तीनपल्ट घुमेर खड्गले प्रहार गर्छन्। त्यतिबेला जात्रालुले ठुल्ठूलो स्वरमा ‘ह्या चायगु कप मूपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मूपात्र भन्दै जिस्क्याउँछन्।

मूपात्रसँगै दायाँबायाँ दुई अन्य व्यक्ति हुन्छन्। धिचा भनिने उनीहरू दैत्यराजाका सहायक अर्थात् मन्त्री हुन्। उनीहरू पनि गैरनेवार समुदायका रहेका छन्। ‘मूपात्र बनेकालाई नेवार समुदायमा राम्रो मानिँदैन,’ सस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘यस्तोमा गैरनेवार समुदायले सहयोग पुर्‍याइरहनुभएको छ।’ जात्राको निरन्तरताका लागि दशकौँदेखि उहाँहरूले पुर्‍याउनुभएको योगदानको नेवार समुदायले कदर गर्नुपर्ने धौभडेलले बताए।  

के हो मूपात्रको कथा?

स्वर्गका राजा इन्द्रकी आमा वसुन्धरालाई गणेश चौथीको व्रत बस्न पारिजातका फूल र खाइसी नामको एक फल (किप) आवश्यक परेको थियो। जुन स्वर्गमा पाइँदैनथ्यो। स्वर्गमा नपाइने भएपछि इन्द्रले छोरा जयन्तलाई मृत्युलोकको एक बगैंचामा फुलिरहेको पारिजातको फूल र फल कसैसँग नसोधी जयन्तले टिपेकै कारण मालीले चोरी आरोपमा समातेर दैत्यराजाकहाँ लैजान्छन्। जयन्तलाई सजायँ दिने क्रममा दैत्यराजाले तरबारले प्रहार गर्छन्।  

त्यही कुराको सम्झना गराउन जात्राको मूपात्रले टोलमा ठड्याइराखेको लिङ्गोलाई खड्गले प्रहार गर्ने चलन चलेको हो। अन्तमा देवताहरूले युद्ध गरी जयन्तलाई छुटाएर लगेको भनाइ छ। प्रचलित कथनअनुसार त्यही दैत्यराजा नै त्यही मूपात्रा हो भन्ने जनविश्वास छ।

तर संस्कृतिविद् ओम धौभडेल मूपात्रलाई राक्षसभन्दा पनि मूल पात्र मान्छन्। देवतासँग वैरी खोजेका कारण उति बेला उनलाई राक्षसको संज्ञा दिएको हुन सक्ने उनको अनुमान छ। ‘चोरीको आरोप लागेपछि इन्द्र र इन्द्रको छोरालाई समेत मूपात्रले छाडेनन्,’ उनले भने, ‘त्यसैको विरोधमा अहिलेसम्म पनि मूपात्रलाई नकार्ने चलन छ।’  

नेवार समुदायमा महत्वपूर्ण जात्राका रूपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ। विगतको समयमा मूपात्र हुनेकी छोरीचेलीको बिहेसमेत हुन मुस्किल पर्ने गरेका कारण अझै पनि भक्तपुरका स्थानीय मूपात्र बन्न तयार नभएको उनको बुझाइ छ। ‘मूपात्रको भूमिका निभाउँदै आएका लामाजस्ता गैरनेवार समुदायका पात्रलाई समाजले सम्मान दिनुपर्छ, धौभडेल भन्छन्, ‘तब मात्र हामीले हाम्रो सस्कृतिको सम्मान गरेको ठहर्छ।’

प्रकाशित: १ आश्विन २०७९ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App