मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फूल्ने यो फूल राजा सलहेश र दौना मालिनीको 'प्रेम प्रतिक' हो। दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवातदेखि जुन रुखमा यो फूल फूल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फूल्दै आएकोे छ।'
फूलबारीको आकर्षण वर्षमा एक दिन फूल्ने फूल हेर्न मिथिलाञ्चल, पूर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालुहरु आउँने गर्छन्। भारत विहारबाट आउँने श्रद्धालुहरुमा 'दुसाद' जातिको संख्या उल्लेख्य रहेको पुजारी बताउँछन। राजा सलहेश 'दुसाद' जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीय श्रद्धालुमा यो जातीको संख्या उल्लेख्य हुन्छ ।
भारत दरभंगाबाट मेला भर्न आएका झरी पासवानले भने,'वर्षौंदेखि सुन्दै आएको गाथा भन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो। यस्तो आलौकिक फूल ६० वर्षको उमेरमा पहिलो पटक देख्न पाए।' फूलबारीमा फूल सिंगार्ने 'दौना मालिनी' जो राजा सलहेससँग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने लोकविश्वास छ ।
एक दिन मात्र फूल्ने यो फूल दैविशक्तिको प्रतिक हो, धार्मिक उपज हो वा कुनै वनस्पतिक विशेषता यस बारेमा ठोस अनुसन्धान भएको छैन् । लहानका वन तथा वातावरण विज्ञ यादव भन्छन्,' सुनाखरीकोे ३५ प्रजाती मध्ये यो अनौठो हो।' नेपालमा सुनाखरीको ८ प्रजाती पाइन्छ।
वैशाख १ गते पूर्ण रुपमा फूल फूलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानु अद्भुत घटना भएको उनल बताए। अरु फूल मुर्झाएर तिनका पात भूईंमा झर्छन् तर, यो फूलको एउटै पत्र भूईंमा नझर्ने पुजारी धामी बताउँछन्। सलहेस फूलवारी र यो फूललाई संरक्षित फूल र वन बनाएर अनुसन्धान गर्नुपर्ने यादवको भनाइ छ ।
प्रकाशित: १ वैशाख २०७३ ००:२३ बुधबार





