३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सेनाको हवाई बिमा 'शंकास्पद'

काठमाडौं- नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आफ्ना जहाज तथा हेलिकप्टर बिमा गराउँदा वास्तविकभन्दा निकै कम मूल्य निर्धारण गरेको खुलेको छ। महानिर्देशनालयसँग रहेका २५ जहाज तथा हेलिकप्टरको बिमा मूल्य कम देखाइएकै कारण अर्बौं रुपैयाँ जोखिममा परेको सोमबार सार्वजनिक महालेखापरीक्षक प्रतिवेदनले औंल्याएको हो। हवाई बिमामा सेनाको आर्थिक गतिविधि शंकास्पद रहेको समेत प्रतिवेदनको निर्क्याेल छ।सेनाले एउटै हेलिकप्टरमा वास्तविक मूल्यभन्दा साढे ५४ करोड रुपैयाँ कम कायम गरी बिमा गरेको पाइएको छ। भारतबाट २०७१ मंसिर ६ गते उपहारस्वरूप प्राप्त एएलएच हेलिकप्टरको मूल्य ३० लाख अमेरिकी डलर कायम गरी हल रिस्क, हलवार रिस्क, तेस्रो पक्ष, सिट कभरेजसमेतको बिमा गरिएको छ। सेनाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग २ लाख ११ हजार ९ सय १५ अमेरिकी डलरमा सम्झौता गरेको हो। सेनाले २०७१ भदौ ५ गते राष्ट्रिय बिमा कम्पनीसँग बिमा सम्झौता गरेको हो।

भारतले उपहार दिएको एएलएच हेलिकप्टरको अनुमानित मूल्य भारतीय रुपैयाँ ५४ करोड भनी काठमाडौंस्थित दूतावासले सेनालाई जानकारी गराएको थियो। यसअनुसार उक्त हेलिकप्टरको नेपाली मूल्य ८६ करोड ४० रुपैयाँ (करिब साढे ८१ लाख अमेरिकी डलर) हुन आउँछ। महानिर्देशनालयले भने बिमा प्रयोजनका लागि उक्त हेलिकप्टरको मूल्य ३० लाख अमेरिकी डलर मात्र कायम गरेको छ। वास्तविक मूल्यभन्दा साढे ५१ लाख अमेरिकी डलर (करिब साढे ५४ करोड रुपैयाँ) कम मूल्य कायम गरी सेनाले हेलिकप्टर बिमा गरेको छ।

अर्बौं रुपैयाँ जोखिममा राखी सेनाले जहाज तथा हेलिकप्टरको कम मूल्यांकन देखाई बिमा गरेको प्रति महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले आपत्ति जनाएको छ। आर्थिक वर्ष २०७१/७२ का आर्थिक गतिविधि समेटेर महालेखाले सोमबार सार्वजनिक गरेको ५३ औं वार्षिक प्रतिवेदनले सेनाको यस्तो गतिविधिलाई 'शंकास्पद' भनेको छ।

'बजेट नभएको जनाई हेलिकप्टरको मूल्यभन्दा घटी मूल्यको बिमा गरेको छ। पूरा मूल्यको बिमा नगर्दा पूरै जोखिम बहन हुन नसक्ने भएकाले जोखिम बहन हुने गरी बिमा गर्नुपर्छ,' प्रतिवेदनमा छ।

महानिर्देशनालयले सन् २००१ मा निर्माण भएको एमआई–१७ मोडलको एउटा हेलिकप्टर २४ लाख ७३ हजार अमेरिकी डलरमा खरिद गरेको थियो। यो हेलिकप्टरको बिमा गर्दा पनि सेनाले १५ लाख अमेरिकी डलर मात्र उल्लेख गरेको छ। यस्तै, सन् २००५ मा निर्माण भएको अर्को एमआई–१७ हेलिकप्टर सेनाले ३० लाख ९९ हजार अमेरिकी डलरमा किनेको थियो। बिमामा भने २० लाख अमेरिकी डलर मात्र उल्लेख छ। सेनाले यसलाई एक कम्पनीसँग ४१ हजार ६ सय डलरमा बिमा गरेको प्रतिवेदनमा उल्लेख छ।

'हेलिकप्टरको मूल्य कम कायम गरी बिमा गर्नु ठूलो मूर्खता हो, यसले सरकारको अर्बौं रुपैयाँ जोखिममा पारेको छ। हेलिकप्टर दुर्घटना भए त्यसको पूरै क्षतिपूर्ति पाउन सकिँदैन। जति मूल्य उल्लेख गरेर बिमा गरिएको छ, त्यति मात्र पाइन्छ। बाँकी क्षति कसले बेहोर्छ?' एक उच्च सैनिक अधिकृतले नागरिकसँग भने।

सेनाले सन् २०१५ मा रुसमा निर्मित दुईवटा एमआई–१७ भी ५ हेलिकप्टर खरिद गरेको थियो। खरिद प्रक्रिया सुरु गर्दा नै विवादमा परेका यी दुई हेलिकप्टर सेनाले २०७२ जेठ २६ गते प्राप्त गरेको थियो। सेनाले ती हेलिकप्टर कति मूल्यमा खरिद गरिएको हो, हालसम्म सार्वजनिक गरेको छैन। यद्यपि बिमा गर्दा तिनको पनि कम मूल्य कायम गरिएको छ। सेनाले उक्त हेलिकप्टरको २०७२ असार ५ गतेदेखि चैत १२ गतेसम्म हल, हलवार, तेस्रो पक्ष, सिट कभरेजसमेत ३ करोड २० लाख डलर मूल्य कायम गरी बिमा सम्झौता गरिएको छ।

'कम मूल्य कायम गरी जहाज तथा हेलिकप्टरको बिमा गर्न नपाउनुपर्ने हो। हेलिकप्टर किन्दा बढी मूल्य देखाएर किनिएको हुन सक्छ, बिमा गर्दा भने वास्तविक मूल्य,' ती उच्च सैनिक अधिकृतले भने।

सैनिक हवाई महानिर्देशनालय, मध्यएयरबेसमा यसै वर्ष खरिद गरिएका दुई वटा एमआई १७ भी ५ हेलिकप्टर र भारतले सहयोगस्वरूप दिएको एक हेलिकप्टर गरी २५ वटा जहाज तथा हेलिकप्टर छन्। यीमध्ये आर्थिक वर्ष २०७१/०७२ मा १४ वटा जहाज तथा हेलिकप्टर सञ्चालनमा थिए। हवाइजहाज र हेलिकप्टर बिमा गरेबापत यस वर्ष सेनाले ८ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ। सेनाले आर्थिक वर्ष २०७१/०७२ मा कुल १ हजार ८ सय ९ घन्टा आफ्नो जहाज तथा हेलिकप्टर उडाएको छ। सेनाले जहाज र हेलिकप्टर मर्मतमा यस वर्ष ३७ करोड ८४ लाख रुपैयाँ खर्चेको छ।

प्रकाशित: २९ चैत्र २०७२ १९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App